विश्वभरीका देशहरुले आफूलाई प्रशंशा गर्नुपर्नेमा उल्टै सजाय दिएको दक्षिण अफ्रिकाको गुनासो

डिसी नेपाल
१२ मंसिर २०७८ १३:४१

काठमाडौं। दक्षिण अफ्रिकाले विश्वभरीका देशहरुसँग असन्तुष्टि जनाउँदै ती देशहरुले आफ्नो प्रशंशा गर्नुपर्नेमा उल्टै सजाय दिएको बताएको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विकसित भएको पत्ता लगाएर यसबारे जानकारी दिँदै विश्वलाई सचेत बनाएकोमा आफ्नो प्रशंशा हुनुपर्नेमा त्यसो नगरी उल्टै सजाय दिइएको दक्षिण अफ्रिकाको आरोप छ ।

दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले एक बयान जारी गर्दै दक्षिण अफ्रिकाले यो नयाँ भेरिएन्ट फैलिइरहेको बारेमा विश्वलाई सूचित गरेका कारण दक्षिण अफ्रिकामाथि सबैतिरबाट यात्रा प्रतिबन्ध लगाइएको गुनासो पोखेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ भेरिएन्टका विषयमा चिन्ता व्यक्त गरेको छ । उसले यो भेरिएन्टलाई प्राविधिक भाषामा चिन्ताजनक भेरिएन्छ (भेरिएन्ट अफ कन्सर्न) भनेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ ।

डब्लुएचओले चेतावनी दिँदै यो निकै तीब्र रुपमा र ठूलो संख्यामा म्युटेट हुने भेरिएन्ट भएको बताएको छ । डब्लुएचओले यो नयाँ भेरिएन्टको पहिलो जानकारी २४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पाएको थियो । यसका अलावा बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पनि यो भेरिएन्टका केस भेटिएका छन् । अहिले युरोपमा पनि यो भेरिएन्टका कैयौं केस भेटिएका छन् । बेलायत, जर्मनी, बेल्जियम, इटली, चेक रिपब्लिकमा पनि यो भेरिएन्टका केस भेटिएका छन् ।

इजरायलमा पनि यो भेरिएन्टको पहिचान भएपछि इजरायलले आइतबार मध्यरातदेखि सबै विदेशीलाई देशमा आउन प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध १४ दिनसम्म रहनेछ । दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड पुगेका सयौं यात्रीको परीक्षण गरिएको छ । टच अधिकारीका अनुसार दक्षिण अफ्रिकाबाट एम्सटर्डम पुगेकामध्ये ६१ जना कोभिड पोजेटिभ पाइएका छन् तर भेरिएन्टको पुष्टि हुन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *