चीनको उन्नत प्रविधि र हतियारसँग तर्सियो अमेरिका, सन्धिको लागि प्रयास गर्दै
काठमाडौं। अमेरिकाले चीनसँग परमाणु अप्रसार सन्धि गर्ने प्रयास गरिरहेको छ । यसको लागि तयारी अगाडि बढाइएको छ । पेन्टागनको एक रिपोर्टअनुसार चीनले २०३० सम्म आफ्नो हतियारको भण्डारमा लगभग १ हजार परमाणु हतियार जम्मा गर्नेछ ।
अहिले चीनसँग करिब ३५० परमाणु हतियार छन् । अमेरिकाको डरको प्रमुख कारण हो – चीनसँग अहिले अमेरिकाको तुलनामा निकै उन्नत प्रविधि छ । चीनले हालै डिएफ–१७ हाइपरसोनिक मिसाइल विकसित गरेको छ । यो मिसाइल आवाजको गतिभन्दा पाँच गुणा तीब्र गतिमा कुनै पनि लक्ष्यमा हान्न सक्छ ।
न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङ बीच हालै भएको भर्चुअल बैठकपछि अमेरिकाले कुटनैतिक च्यानलबाट परमाणु अप्रसार सन्धिको लागि गम्भीरताका साथ प्रयास गर्न सुरु गरेको छ । बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानका अनुसार बाइडेन र जिनपिङको बैठकपछि अब यस प्रकारको सन्धिको प्रयासको लागि अनुकूल परिस्थिति छ ।
उनका अनुसार यसको लागि चीनको तर्फबाट सकारात्मक सन्देश आउनुपर्छ । चीनसँग यस्तो कुनै सन्धि भएमा एसिया प्रशान्त क्षेत्रमा शान्ति स्थापना हुन सक्नेछ । तर, यसको लागि अमेरिकाले चीनमाथि भूराजनीतिक दबाब बनाउनुपर्छ । बललिँदो समीकरणमा अमेरिकालाई रुसभन्दा कैयौं धेरै चीनको बढ्दो सैन्य शक्तिबाट खतरा छ ।
अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा चीनको एन्टि स्याटेलाइट प्रविधि हो । एन्टि स्याटेलाइट प्रविधिबाट चीनले अमेरिकाको स्याटेलाइट र अर्ली वार्निङ सिस्टमलाई पंगु बनाउन सक्छ । रुसजस्तै अमेरिकासँग चीनको साथमा कुनै न्यूक्लियर हटलाइन पनि छैन । चीनले हाइपरसोनिक मिसाइलको १५० भन्दा धेरै परीक्षण गरेको छ भने अमेरिकाले ९ वटा परीक्षण मात्र गर्न सकेको छ । यसमाथि चीनका हाइपरसोनिक मिसाइलमा घुम्दै उड्ने क्षमता समेत छ ।







डिसी नेपाल







Facebook Comment