कांग्रेस महाधिवेशनको सुरक्षा कमाण्ड महानगरीय प्रहरी रानीपोखरीमा रहने
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सुरक्षा कमाण्ड महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहने भएको छ । काठमाडौमा महाधिवेशन हुने भएकाले सुरक्षा कमाण्ड महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहने भएको हो ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरि पालले त्यसको कमाण्ड सम्हाल्नेछन् । ‘यहीबाट सुरक्षा कमाण्ड परिचालन हुनेछ, कार्यक्रमलाई व्यवस्थित बनाउने तीन जिल्लाका सुरक्षाकर्मी र उपत्याकास्थित विभिन्न गणका प्रहरी परिचालन हुनेछन्’, एआइजी पालले भने ।
उनका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यक्षेत्र रहने भएकाले परिसरकै ‘लिड रोल’मा प्रहरी परिचालन हुनेछ । परिसरले पनि एसपी दिनेश मैनालीको संयोजनमा रहनेगरी प्रहरी परिचालनको योजना बनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार महाधिवेशन सुरक्षाको सम्पूर्ण कमान्ड रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयबाट हुने र त्यसका लागि एआईजी पालको नेतृत्वमा सुरक्षा टोली बनाइएको छ । प्रहरीका अनुसार एआइजी पालको नेतृत्वमा नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित आठ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछन् ।
महाधिवेशनको सुरक्षाका लागि भित्री तहमा नेपाल प्रहरीका सुरक्षाकर्मी रहनेछन । मतदान र सभास्थललाई भित्री तह मानिएको छ । दोस्रो तहमा राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीकै सादा पोसाकका सुरक्षाकर्मी रहनेछन् । महाधिवेशन आउँदो शुक्रबारदेखि तीन दिनसम्म काठमाडौँमा हुँदैछ । ‘महाधिवेशनस्थललाई सुरक्षा प्रदान गर्न प्रहरीले तीन वटा तहलाई विभाजन गरेको छ । मतदानस्थल, मतदानबाहिरको भाग र महाधिवेशनस्थल भन्दा बाहिर गरी तीन भागमा बाँडेको हो ।
कांग्रेस महाधिवेशनमा विदेशी पाहुना समेत आउने भएकाले उनीहरुको सुरक्षाका लागि पनि प्रहरीले छुट्टै सुरक्षाकर्मी खटाउने भएको छ । त्यस्तै प्रधानमन्त्री गृहमन्त्री लगायतका उच्च तहका नेताहरु सहभागी हुने भएकाले सुरक्षा थ्रेटलाई समेत ध्यानमा राखेर ठूलो संख्यामा प्रहरी परिचालन गर्न लागेको हो । ‘हामीले सुरक्षा योजना बनाइसकेका छौ, प्रतिनीधिहरुलाई व्यवस्थित गर्ने काम सम्बन्धित आयोजककै भएकाले बाहिरी सुरक्षा हाम्रो दायित्व त्यसमा कुनै कमी आउने दिइनेछैन’, एआइजी पालले भने ।







डिसी नेपाल







Facebook Comment