अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण

डिसी नेपाल
३ साउन २०८३ २२:२९

मध्यपूर्व युद्ध पुन । मध्यपूर्वमा युद्ध फेरि चर्किएको छ। पहिलो पटक अमेरिकी सैनिक मारिएपछि अमेरिकाले आइतबार इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी पक्षले यो आक्रमण इरानलाई ‘सजाय’ दिन गरिएको दाबी गरेको छ।

इरानले त्यसको जवाफस्वरूप कुवेतस्थित दुई अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको दाबी गरेको छ। तेहरानले अमेरिकी आक्रमणमा विमानस्थल, रेलवे स्टेसन र पुलहरूलाई पनि निशाना बनाइएको आरोप लगाएको छ।

हर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर तनाव बढ्दै जाँदा युद्ध अन्त्यका लागि भइरहेको प्रारम्भिक सम्झौताको प्रयास पनि विफल भएको बताइएको छ। विश्वको तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने उक्त जलमार्गमा दुवै पक्षबीच तनाव चुलिएको छ।

इरानी सेनाले कुवेतस्थित क्याम्प उदैरीको गोला–बारुद भण्डारणस्थल तथा अली अल सलेम एयर बेसको प्याट्रियट रडार र हवाई निगरानी प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको जनाएको छ। तेहरानले जोर्डनतर्फ पनि नयाँ आक्रमण गरेको दाबी गरेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार शुक्रबार इरानी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका छन् भने एक सैनिक अझै बेपत्ता छन्। यससँगै फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धमा मारिने अमेरिकी सैनिकको संख्या १६ पुगेको जनाइएको छ।

अमेरिकी सेनाले इरानमाथि लगातार आठौँ रात पनि आक्रमण जारी राखेको जनाएको छ। सेन्टकमका अनुसार जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमणमा संलग्न इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का युनिटलाई लक्षित गरी कारबाही गरिएको हो।

यता, इरानको आणविक ऊर्जा सङ्गठनले अमेरिकाले देशको दक्षिणपश्चिम क्षेत्रमा निर्माणाधीन दारखोभिन आणविक विद्युत् आयोजना लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ। सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय कानुनविपरीतको आक्रामक कदम भनेको छ।

इरानी आक्रमणपछि जोर्डनमा पनि साइरन बजाइएको थियो। इजरायली सेनाले जोर्डनको सेनासँगको समन्वयमा अकाबा बन्दरगाहतर्फ आउँदै गरेको इरानी मिसाइल खसालेको जनाएको छ। यद्यपि, इरानले त्यसबारे औपचारिक पुष्टि गरेको छैन।

कुवेतको विद्युत् मन्त्रालयले लगातार दोस्रो दिन विद्युत् तथा पानी उत्पादन केन्द्रमा आक्रमण भएको र आगलागी भएको जनाएको छ। बहराइनको सेनाले पनि इरानी हवाई आक्रमण निष्क्रिय पारिएको दाबी गर्दै इरानले नागरिक क्षेत्रलाई लक्षित गरेको आरोप लगाएको छ।

तनावको मुख्य कारण इरानले सामरिक महत्वको हर्मुज जलडमरूमध्यमा जहाजमाथि आक्रमण गर्नु र युद्ध सुरु भएपछि उक्त जलमार्ग बन्द गर्नु रहेको बताइएको छ। यो जलमार्गको नियन्त्रणलाई इरानले वाशिङ्टनसँगको वार्तामा दबाबको माध्यमका रूपमा प्रयोग गरिरहेको विश्लेषण गरिएको छ।

आइतबार इरानी रिभोल्युसनरी गार्डले हर्मुज जलडमरूमध्य हुँदै जान खोजेका दुई तेल ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म जारी पछिल्लो द्वन्द्वमा ५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *