कांग्रेस महाधिवेशन सरगर्मी : देउवा पक्षको भेला बुढानिलकण्ठमा, पौडेल पक्ष अनुपम फुडल्यान्डमा

डिसी नेपाल
२२ मंसिर २०७८ ११:२९
104
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन उदघाटन हुन अब दुई दिन मात्र बाँकी छ। त्यसैले कांग्रेसको संस्थापन र इतर समूह सभापतिसहितको प्यानल बनाउन जुटेका छन्।

बुधबार दुवै समूह बैठकमा जुटेका छन्। संस्थापन पक्षको बैठक पार्टी सभापति एवं प्रधानमन्त्री निवास बुढानिलकण्ठमा बस्दैछ भने पौडेल समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको छ।

केहीबेर अघि सुरु बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र डा.रामशरण महत, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी छन्।

सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा सहभागी थिए। तर, चार आकांक्षीमध्ये कोही पनि बैठकमा नबस्ने भनेपछि पौडेल पनि बाहिरिएका छन्। बैठकले छलफल गरेर आकांक्षीहरूलाई सुझाव दिनेछन्।

मंगलबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा पाँच घन्टासम्म बसेको बैठकले बुधबारसम्म सभापतिके साझा उम्मेदवार तय गर्ने भन्दै टुंगिएको थियो। बैठकमा सभापतिमध्येका एक आकांक्षी डा.शशांक कोइरालाले नेता पौडेलका लागि आफूले सभापतिमा गरेको दाबी छाड्ने बताएका थिए । तर, प्रकाशमान सिंह र डा.शेखर कोइराला भने आ–आफ्नो अडानबाट टसमस भएका छैनन्।

उता, संस्थापन पक्षको बैठकमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुढानिलकण्ठ प्रस्थान गरेका छन् । उनी १० बजे बालुवाटारबाट बुढानिलकण्ठका लागि प्रस्थान गरेका हुन्। देउवाले आज आफ्नो पक्षको पदाधिकारीको टुंगो लगाउने भएका छन्। देउवा पक्षमा पनि पदाधिकारी टुंग्याउन निकै सकस छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षी धेरै भएकाले देउवा तनावमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.