सबैभन्दा धेरै विदा दिने, सबैभन्दा कम काम गराउने देश बन्यो युएइ, नयाँ वर्षदेखि लागू हुने
काठमाडौं। संयुक्त अरब इमिरेट्सले आफ्ना कर्मचारीलाई यो नयाँ वर्षमा आरामको उपहार दिने भएको छ । २०२२ को जनवरी १ देखि युएइमा हप्तामा केवल साढे ४ दिन काम हुनेछ । साढे २ दिन विदा हुनेछ । युएइ सरकारले यस बारे आधिकारिक वक्तव्य जारी गरेको छ ।
आगामी केही दिनमा सबै सरकारी कार्यालयमा सर्कुलर पठाइनेछ । युएइ विश्वको पहिलो देश हो जहाँ हप्तामा काम गर्ने समय सबैभन्दा कम गरिएको छ । विश्वका धेरैजसो देशमा हप्तामा ५ दिन काम गर्ने प्रचलन छ । नेपालमा भने हप्तामा ६ दिन काम गर्नुपर्छ ।
युएइको अखबार द नेशनलका अनुसार नयाँ वर्किङ क्यालेण्डर १ जनवरी २०२२ देखि लागू गर्ने योजना बनाइएको छ ताकि यसलाई लागू गर्न कुनै किसिमको समस्या लआओस् । युएइमा कर्मचारीहरुको लागि जस्तो किसिमका नियम छन् त्यसको आधारमा छिटै देशको निजी क्षेत्रले पनि यस्तै गर्ने अनुमान गरिएको छ ।
अहिलेलाई यो नियम केवल सरकारी कर्मचारीको लागि लागू गरिएको छ । अब शुक्रबार केवल आधा दिन काम हुनेछ । शनिबार र आइतबार पूरै विदा हुनेछ । आदेशअनुसार शुक्रबार कर्मचारीहरुले आधा दिनको काम पनि घरबाटै गर्न चाहेमा अनुमति पाउनेछन् । दुबइ र अबुधाबीमा सरकारको यो घोषणाले कर्मचारी निकै खुसी छन् ।
रिपोर्टका अनुसार छिटै देशका स्कुल र कलेजले पनि नयाँ नियम लागू गर्नेछन् । यस बारेमा छुट्टै सर्कुलर जारी गरिन सक्छ । स्कुल र निजी षेत्रका बारेमा अहिले कुनै किसिमको गाइडलाइन जारी गरिएको छैन । कम्पनीहरुले यस बारेमा आफैं निर्णय गर्नेछन् ।
युएइ सरकारको आधिकारिक मिडिया सेलले भनेको छ ‘यदि हामी कर्मचारीहरुलाई कामको बदलामा उत्तिकै आराम दिन्छौं भने उनीहरुको उत्पादकत्वमा वृद्धि हुनेछ । यसबाट देशलाई नै फाइदा हुनेछ ।’ युएइले २००६ मा अन्तिम पटक वर्किङ विक प्याटर्न परिवर्तन गरेको थियो । त्यतिबेला बिहीबार र शुक्रबारको सट्टा शुक्रबार र शनिबार विदा हुने घोषणा गरिएको थियो ।
युएइ सरकारका अनुसार उसले ग्लोबल मार्केटको प्याटर्न पच्छ्याउन चाहेको बताएको छ । १९७१ देखि १९९९ सम्म देशमा ६ दिन काम हुन्थ्यो । १९९९ मा यसलाई परिवर्तन गरेर पाँच दिन बनाइएको थियो । २०२२ देखि यसलाई पनि परिवर्तन गरेर साढे ४ दिन बनाइएको हो ।







डिसी नेपाल







Facebook Comment