जमाल खशोग्गीको हत्या आरोपमा पक्राउ परेका साउदी नागरिकलाई फ्रान्सले छाडिदियो
काठमाडौं। फ्रान्सका अधिकारीहरुले पत्रकार जमाल खशोग्गीको हत्याको सिलसिलामा पक्राउ गरिएका साउदी व्यक्तिलाई रिहा गरिदिएका छन् । अधिकारीहरुले यी व्यक्तिलाई गलत पहिचानको आधारमा गिरफ्तार गरिएको बताउँदै रिहा गरेका हुन् । ३३ वर्षीय खालिद अलोतैबीलाई टर्कीमा जारी गरिएको वारेन्टका आधारमा मंगलबार पेरिसको एक विमानस्थलबाट गिरफ्तार गरिएको थियो ।
यही नामका एक साउदी सैनिक (रोयल गार्ड)लाई अमेरिकाले खशोग्गीको हत्यामा अभियुक्तमध्ये एक मान्छ । अधिकारीहरुका अनुसार यही कारण खालिदलाई गिरफ्तार गरिएको थियो । टर्कीको इस्तानबुलमा साउदी वाणिज्य दूतावासभित्र २०१८ मा पत्रकार जमाल खशोग्गीको हत्या गरिएको थियो । अमेरिकामा बस्ने साउदी पत्रकार खशोग्गी साउदी सरकारका आलोचक थिए ।
साउदी अरबका अनुसार खशोग्गीलाई देशमा फर्किनको लागि मनाउनको लागि पठाइएका एजेन्टहरुको एक टिमले उनलाई मारिदिएको थियो । तर संयुक्त राष्ट्रसंघका अन्वेषकले भने खशोग्गी ‘एक जानीबुझी बनाइएको पूर्व नियोजित षड्यन्त्रको शिकार’ भएको निष्कर्ष निकालेका छन् । संयुक्त राष्ट्रसंघले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसहित कैयौं बरिष्ठ साउदी अधिकारी यो षड्यन्त्रमा संलग्न भएको विश्वसनीय प्रमाण भएको बताएको थियो ।







डिसी नेपाल







Facebook Comment