महाधिवेशन प्रतिनिधिका कारण राजधानीका अधिकांश होटल भरिभराउ
काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडौँमा कांग्रेसको महाधिवेश सुरु भएको छ । कांग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था गरेको छ । सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिए पनि तारे होटल, पर्यटकीय होटलदेखि सामान्य होटलसमेत प्रतिनिधि, पर्यवेक्षकका साथै शुभेच्छुकले भरिएका छन् ।
आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार करिब चार हजार प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएका छन् । महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गरिएको छ । महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप आसपास मात्र होइन, प्रतिनिधि बस्ने होटल आसपास पनि उम्मेदवारका प्रचार सामग्री झुण्ड्याइएका छन् । सुन्धारा, ठमेल र गौशाला क्षेत्रका बाटाबाटामा प्रचार सामग्री देख्न सकिन्छ । कोरोना महामारी जोखिम कायमै रहे पनि होटल व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर प्रतिनिधिलाई खानेबस्ने प्रबन्ध मिलाएका छन् ।
लामो सयम कोरोना महामारीका कारण समस्यामा परेका होटल व्यवसायीले महाधिवशेनका कारण थोरै भए पनि राहत महसुस गरेका छन् । एकता होटल व्यवसायी सङ्घका उपाध्यक्ष खेमराज उप्रेतीले ठूलो पार्टीले काठमाडौँमा महाधिवेशन गर्नु राम्रो पक्ष भएको बताए । उनले काठमाडौँका तारे होटलदेखि पर्यटकस्तरीय होटल प्रतिनिधि र शुभेच्छुकका कारण भरिभराउ भएको जानकारी दिए । कोरोनाका कारण लामो समयसम्म पाहुनाविहीन बनेका व्यवसायी अहिले कोरोना केही मत्थर हुँदै गएको, पहिले जस्तै विभिन्न बैठक, भेला, सम्मेलन, गोष्ठीका साथै पार्टीका महाधिवशेन पनि हुन थालेपछि खुसी देखिएका छन् । सङ्घअन्तर्गत राजधानीमा करिब ४०० होटल रहेका छन् ।
अध्यक्ष उप्रेतीले सङ्घ आबद्ध कोटेश्वर, एयरपोर्ट, तिलगङ्गा, गौशाला, चाबहिल, बत्तिसपुतली, ज्ञानेश्वर, लाजिम्पाटलगायत होटल महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकका कारण खचाखच भरिएका बताए । सो क्षेत्रका होटल अहिले शतप्रतिशत ‘अकुपेन्सी’मा चलेका छन् । ‘सबै होटल भरिएका छन्, कोठा खाली छैनन्, यो सुखद् पक्ष हो”, उपाध्यक्ष उप्रेतीले भने, ‘सबै होटलले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गरेका छन् ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment