वाइड बल र नो बल दुवै थिएन, तर एक बलमा ७ रन कसरी बन्यो ?
काठमाडौं। क्रिकेट खेलमा तपाइँले निकै अनौठा घटनाहरु भएको देख्नुभएको वा सुन्नुभएको होला तर के तपाइँले नो बल पनि नभएको र वाइड बल पनि नभएको अवस्थामा १ बलमै ७ रन बनेको देख्नुभएको छ ? न्यूजिल्याण्ड र बंगलादेशबीच आजदेखि सुरु भएको दोस्रो टेस्टमा पहिलो दिनमै यस्तो घटना भयो । आज बंगलादेशको टिमले १ बलमा ७ रन खर्च गरे जबकि त्यो बल वाइड पनि थिएन र नो बल पनि थिएन ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको न्यूजिल्याण्डको इनिङको २६ औं ओभरमा एक बलमा ७ रन बने । इबादत हुसैनको ओभरको अन्तिम बल विल यंगले खेल्दा बल सेकेन्ड स्लिपमा गयो तर फिल्डरले क्याच गर्न सकेनन् । फिल्डरको हातमा लागेको बल थर्ड म्यानको दिशातिर गयो । यस क्रममा विल यंग र टम लथामले दौडिएरै तेस्रो रन लिन थाले । तेस्रो रन पूरा हुनै लाग्दा फिल्डरले बल विकेटकिपर इण्डमा फाले ।
बलर इण्डतर्फ ब्याटरलाई रन आउट गर्न सकिने देखेपछि विकेटकिपर नुरुल हसनले बल बलरतर्फ फाले तर बल बलरले समाउन सकेनन र बल बाउण्ड्रीतर्फ गयो । यस क्रममा न्यूजिल्याण्डका ब्याटरहरुले तेस्रो रन पूरा गरे भने बल बाउण्ड्रीबाट बाहिर गयो । अन्ततः ब्याटरले दौडिएर लिएको ३ रनको साथमा बल ओभरथ्रो भएर चौका गएपछि कूल ७ रन बने ।







डिसी नेपाल







Facebook Comment