चार जना मित्रहरुको अन्तिम सेल्फी

डिसी नेपाल
२६ पुष २०७८ १२:१४

काठमाडौं। ‘हामी भारा काहुमा ठूलो संख्यामा उभिएका छौं । हामीलाई न हाम्रा आफन्तको शव दिइएको छ न अगाडि जान दिइएको छ ।’ पाकिस्तानको राजधानी इस्लामाबाद नजिकै पंजाब प्रान्तको पर्यटकीय स्थल मरीमा भारी हिमपातमा मारिएका २२ पर्यटकमा मरदानमा बस्ने ४ मित्रहरु पनि थिए । उनीहरुका नजिकका मित्र फैसल खानले भने ‘हामी प्रशासनसँग अनुरोध गरिरहेका छौं कि उनीहरुलाई बचाउन त सकिएन अब उनहिरुको शव हामीलाई दिइयोस् । अधिकारीहरुले बिहान हुनुभन्दा पहिले यो सम्भव छैन भनेका छन् ।’

यो विपत्तिमा मरदानका ४ युवकहरुको मृत्यु भयो । उनीहरु असद खान, सुहैल खान, बिलाल खान र अहिले कराची बस्दै आएका बिलाल खान थिए । यी चारैजना मरदानको एउटै इलाकाका हुन् र सबै आपसमा कजिन थिए । चार साथीहरुमा जेठा सुैल खान थिए जसको उमेर २५ वर्ष बताइएको छ । उनको बिहे भइसकेको थियो र २ सन्तान छन् । अन्य २ जनाको उमेर करिब २२ वर्ष थियो । असद खानको पनि बिहे भइसकेको थियो र उनका पनि २ सन्तान छन् ।

फैसल खानले बीबीसीसँग भने ‘असद खान मेरो बाल्यकालको साथी मात्र नभइ व्यवसायिक साझेदार पनि थिए । असद र मेरो मरदानमा छडको दुकान छ । कराचीमा बस्ने बिलाल र अन्य २ जना पनि छडकै कारोबार गर्छन् । अरु ३ जना असदका आफन्त हुन् त्यसैले मेरो उनीहरुसँग मित्रता थियो ।’ फैसलका अनुसार उनीहरुको मित्रता गहिरो थियो । उनीहरु कपडा, कडी, जुत्ता सबै उस्तै लगाउँथे । फैसल र असद साथमै घुम्न जान्थे । हिउँ पर्न थालेपछि फैसलले बहरिन स्वात जाउँ भनेका थिए तर कराची बस्ने बिलाल मरी देख्न चाहन्थे त्यसैले उनीहरु मरी गए र फैसल बहरिन गए ।

फैसलका अनुसार उनलाई असदको म्यासेज आएको थियो जसमा पसलको चाबी फलानो ठाउँमा राखिएको छ लिनु भनिएको थियो । फैसलले भने ‘आज बिहान उनी समयमा पसलमा नआएपछि मैले फोन गरें । उनको फोन अरु कसैले उठाए र मलाई असद र उनका तीन साथीहरुको मृत्यु भएको बताए ।’ उनीहरुका एक नजिकका आफन्त नुसरत खानले भने ‘जब उनीहरु हिउँमा फसे त्यतिबेला चिन्तित थिएनन् ।’

नुसरतले भने ‘मैले फोन गर्दा सुहैलले उठाए । उनले हिउँका कारण रोड बन्द भइसकेको बताए । उनले छिटै सडक खुल्ने र आफूहरु मरी घुमेर फर्किने बताएका थिए ।’ नुसरतका अनुसार २–३ घण्टापछि उनीहरुले फोन गरेर सडक अझै नखुलेको बताएका थिए । उनीहरुले सडक खुल्ने अपेक्षा व्यक्त गर्दै त्यहाँ आफूहरु मात्र नफसेको र अरु पनि थुप्रै गाडीहरु भएको बताएका थिए । गाडीमा बालबालिका र महिलाहरु पनि भएकोले उद्धार गरिने आशामा उनीहरुले चिन्ताको कुरा नभएको बताएका थिए । तर पनि चारैजनाको मृत्युको खबर आयो ।

मरदानमा मारिएका ४ मित्रका अर्का आफन्त बाबर खानले भने ‘हाम्रा आफन्त बिलाल खान केही दिन पहिले कराचीबाट आएका थिए । उनी हिमपात हेर्न मरी जान चाहन्थे । असदले हिमपातको खबर सुनेपछि उनको इच्छाअनुसार बिलाललाई कारमा लिएर गएका थिए । बिहान उनीहरुले जाने बेला मरीमा रात नबिताउने बताएका थिए । त्यहाँबाट एबटाबाद जाने र राती एबटाबाद वा गल्यातको कुनै होटलमा बस्ने बताएका थिए । उनीहरुले एबटाबाद वा गल्यातमा बस्ने ठाउँको व्यवस्था गरेका थिए ।’

बाबर खानका अनुसार रातमा उनले फोन गर्दा ४ मित्रहरुले चिन्ताको कुनै कुरा नभएको र आफूहरु ठिक भएको बताउँदै रात कारमै बिताउनु परे पनि चिन्ता नहुने, कारमा भएको हिटर चलाउने बताएका थिए । आधा रातमा बाबरले फोन गर्दा सुहैलले भनेका थिए ‘हामी त ठिक छौं तर कैयौं गाडीहरुमा मानिसहरुको हालत खराब छ । हामीसँग खाने केही कुराहरु थिए जो हामीले अरुलाई दियौं । यहाँ फसेका महिलाहरु र बच्चाहरुको सहयोग कसरी गर्ने भन्ने बुट्टन सकेका छैनौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *