चौधरी ग्रुपका निर्वाण चौधरी, प्रदीप खड्का र संगय छेल्ट्रिमको ‘टनेल २६’ को टिजर सार्वजनिक
काठमाडौं । चौधरी ग्रुपका निर्वाण चौधरीले नेपाली अभिनेता प्रदीप खड्काको साथमा भारतीय फिल्म मेकर प्रशान्त कुमार गुप्ता र भुटानका चर्चित अभिनेता संगय छेल्ट्रिमको सहकार्यमा निर्माण गरेको ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको छ।
फिल्ममा नेपाली अभिनेता अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्छो किनरब, चेन्चो लामा, केजाङ काज, त्सेकी वाङ्दी, काया ग्येल्त्सेन, नामगे डीजे, जिग्मे कार्लोस, चाब्लोप पासु, उग्येन दोर्जी लगायतका कलाकारको अभिनय रहेको छ।
साङ्गे शेल्ट्रिम फिल्म्स र पिक एक्सभी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका लेखक तथा निर्देशक डीडी किन्ले हुन्।
मूल रूपमा भुटानको राष्ट्रिय भाषा ‘जोङ्खा’मा निर्माण भएको यो फिल्म नेपाल, भुटान तथा भारतका कम्पनीहरूको संयुक्त निर्माण हो।
यो फिल्मका संयुक्त निर्मातामध्ये ‘पिक एक्सभी’ निर्वाणको स्वामित्वमा रहेको फिल्म निर्माण कम्पनी हो। निर्वाणका पिता एवं चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले विसं २०३९ सालमा ‘वासुदेव’ सिनेमा बनाएका थिए। त्यसको झन्डै साढे चार दशकपछि उनका छोराले सिनेमा निर्माणमा हात हालेका हुन्।
करिब ६ महिनाअघि छायांकन सकिएको फिल्मको हाल थाइल्यान्डमा पोस्ट प्रोडक्सन भइरहेको छ। नेपाली, ‘जोङ्खा’ एवं भारतीय भाषामा समेत प्रदर्शन हुने यो फिल्मले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजारसँग जोड्ने महत्त्वाकांक्षी प्रयास ठानिएको छ।
डोरजिग्स प्रोडक्सन, रेल्टिक पिक्चर्स, डोमसिप र रोलिङ इमेज पिक्चर्सको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक र क्रिएटिभ निर्माता प्रदीप खड्का हुन्।
यसैगरी, फिल्ममा क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका अभिनेता खड्काको निर्माणको हिसाबले ‘टनेल २६’ प्रदीप खड्काको चौथो फिल्म हो। यसअघि उनले ‘स्केप’, ‘ठूलो मान्छे’ र ‘एक्लो’ जस्ता फिल्ममा निर्माण सहकार्य गरिसकेका छन्।
निर्माण पक्षले फिल्मलाई अक्टोबर महिनामा रिलिज गर्ने तयारी गरेको छ। तीनै देशका प्राविधिक तथा कलाकारहरू रहेको यो फिल्म हलसँगै भारतको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा समेत रिलिज गरिनेछ।
फिल्मको छायांकन दीर्घ गुरुङ र साङ्गे टी. तेन्जिङले गरेका छन्। एक्सन निर्देशन राजु तामाङ, प्रोडक्सन डिजाइन कृष्ण शर्मा, प्रोडक्सन व्यवस्थापन पेमा लामो तथा मेकअप र कस्ट्युम ब्लु छिरिङ दोर्जीले सम्हालेका छन्।
त्यस्तै, फिल्ममा तेर्डसाक जान्पानको संगीत, करण थामावोङको साउन्ड डिजाइन तथा रि-रेकर्डिङ मिक्सिङ, रथाकोरन टोङ्नुनको डाइलग एडिटिङ तथा फोली र निपान स्टुडियोको भिजुअल इफेक्ट्स रहेको छ। फिल्मको सम्पादन निर्देशक डीडी किन्लेले गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment