पाकिस्तानमा हिउँमा फसेका कारभित्र २२ जनाको ज्यान लिने विष कस्तो खालको विष हो ?
काठमाडौं। पाकिस्तानको पर्यटकीय स्थल मरीमा भारी हिमपातका कारण कम्तीमा २२ जना पर्यटकको मृत्यु भएको छ । यहाँ अझै पनि धेरै मानिस फसेका छन् जसलाई बचाउने प्रयास भइरहेको छ । सूचनाका अनुसार सबैभन्दा धेरै मृत्यु गिल्डना क्षेत्रमा हिउँमा फसेका ४ गाडीमा भएका छन् ।
गल्यात विकास प्राधिकरणका प्रवक्ता अहसन हमीदका अनुसार गल्यातमा केवल एक दिनमा ३ फिट बाक्लो हिउँ पर्यो । यसअघि शुक्रबार भन्दा पहिले ४ दिनसम्म चलेको दोस्रो चरणमा अढाइ फिट हिउँ परेको थियो जसले जनजीवन अस्तव्यस्त बनेको थियो । यी मृत्युहरु हाइपोथर्मिया अर्थात अत्याधिक चिसोका कारण भए वा कार्बन मोनोअक्साइड का कारण निसास्सिएर भए भन्ने बारेमा जाँचपछि अधिकारीहरुले नै बताउनेछन् ।

यद्यपि गाडीमा निसास्सिएर वा कार्बन मोनोअक्साइडमा सास फेर्दा विश्वभरी नै मृत्युहरु भइरहन्छन् । यस्तो अवस्थामा परेर बचेका धेरै मानिसहरुलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । त्यसैले घर र गाडीमा यसबारे सावधानी अपनाउने सल्लाह दिइन्छ । कार्बन मोनोअक्साइड एक रंगहीन, स्वादहीन र गन्धहीन ग्यास हो । यसमा सास फेर्नु घातक हुन सक्छ वा दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न गराउन सक्छ ।
कार्बन मोनोअक्साइड विषको लक्षण अन्य बिरामीहरुसँग मिल्दोजुल्दो हुन सक्छन् जस्तो कि फुड प्वाइजनिङ वा ज्वरो बिनाको फ्लु । अमेरिकाको कन्ज्युमर प्रोडक्ट सेफ्टीकमिशनका अनुसार कार्बन मोनोअक्साइडको कम मात्राले टाउको दुख्ने, थकान, सास फेर्न समस्या, वाकवाकी लाग्ने र रिंगटा लाग्ने हुन्छ । शरीरमा यसको मात्र धेरै गएमा बान्ता हुने, शरीरको सन्तुलन बिग्रिने, बेहोस हुनुका साथै मानिसको मृत्यु पनि हुन सक्छ । भित्री कम्बसन इन्जिनबाट चल्ने उपकरणहरु पोर्टेबल जेनेरेटर, कार, चउरको घाँस काट्ने मेसिन, पावर वासर लगायतले कार्बन मोनोअक्साइड उत्पादन गर्छन् ।

एक्जस्ट सिस्टम लिक भएमा गाडीमा कार्बन मोनोअक्साइड उत्पन्न हुन सक्छ । यदि कुनै कारणले एक्जस्ट सिस्टम बन्द भए यो ग्यास गाडीभित्र जान थाल्छ । त्यसैले आम रुपमा कारको एसी अन गरेर कारका सबै झ्यालढोका बन्द गरेर गाडीभित्र नसुत्न भनिन्छ किनकि लिकेज भएमा यो अवस्था घातक हुन सक्छ । सामान्य परिस्थितिमा पनि कार्बन मोनोअक्साइड विषबाट बच्नको लागि वर्षमा एक पटक कारको एक्जस्ट सिस्टमको जाँच गराउन सल्लाह दिइन्छ ।
मरीमा भएका मृत्युहरुमा पनि यस्तै परिस्थिति सृजना भएको हुन सक्ने विशेषज्ञहरुले आशंका गरेका छन् । यहाँबाट सार्वजनिक भएका कैयौं तस्वीरहरुमा हिउँमा फसेका गाडीहरु हिउँमा यतिसम्म ढाकिएका देखिएका छन् कि ती गाडीको साइलेन्सर पाइपको मुख हिउँले पूरै ढाकिदिएको छ । यसका अलावा बाहिरको चिसोबाट बच्नको लागि मानिसहरुले कारको इन्जिन चालु राख्नु र हिटर वा एसी चलाउनु पनि स्वभाविक हो । यस्तो अवस्थामा कार्बन मोनोअक्साइड गाडिभित्र फैलिनु र गाडीभित्रको हावालाई विषाक्त पार्नु पनि स्वभाविक हो ।







डिसी नेपाल







Facebook Comment