सहिद स्मारक लिगः पुलिस र बीबीसीले अंक बाँडे

डिसी नेपाल
२६ पुष २०७८ १५:१०
44
Shares

काठमाडौं।नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले सहिद स्मारक ए डिभिजन लिगमा १-१ को बराबरी खेलेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न आठौं चरणको अन्तिम खेलमा अंक बाँडेसँगै दुवै टोलीको तालिकामा स्थान सुधार गर्ने लक्ष्यले पूर्णता पाएन ।खेलको दोस्रो मिनेटमै रोशन रानामगरको गोलमा ब्रिगेड ब्वाइजले अग्रता लिएको थियो । शिशिर लेखीको प्रहार पुलिसका गोलकिपर सत्रुघनकुमार चौधरीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बललाई रोशनले जाली चुमाएका थिए ।

तर ब्रिगेड ब्वाइजले आफ्नो अग्रता लामो समय टिकाउन सकेन । त्यसको दुई मिनेटपछि नै पुलिस खेलमा फर्कियो । रक्षक बुद्ध तामाङको फ्रिकक गोलमा पुलिस खेलमा फर्किएको थियो ।पुलिस आठ खेलमा सात अंकसहित ११औं स्थानमा छ भने ब्रिगेड ब्वाइज क्लब समान खेलमा ६ अंक बटुल्दै १२औं स्थानमा छ । बाँकी समय दुवै टोलीले केही गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् ।

१३औं मिनेटमा रुडी जोनाथन एमबाकोपको फ्रिकक बाहिरिँदा ब्रिगेड ब्वाइजले अग्रता दिने अवसर गुमायो । २५औं मिनेटमा निरकुमार राईको कर्नरमा सन्तोष हेमरनले गरेको हेडर गोलपोस्टभन्दा माथिबाट बाहिरदाँ पुलिसले अग्रता दिने अवसर खेर फाल्यो । त्यसको पाँच मिनेटपछि निरकुमारको प्रहार क्रसबारमा लागेर फर्कदा पुलिसले गोलको सनौलो अवसर गुमायो ।

५२औं मिनेटमा पुलिसका रवि पासवानले गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । ५५औं मिनेटमा ब्रिगेड ब्वाइजका विपिन बस्नेतले गरेको प्रहार बाहिरियो । ७६औं मिनेटमा रुडी जोनाथनको प्रहार क्रसबारमा लागेर फर्किँदा ब्रिगेड ब्वाइजले अग्रता लिने अवसर गुमायो ।यो सँगै आठौं चरणको समाप्ति भएको छ । मछिन्द्र शीर्ष स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *