तनाव बढेपछि रुसले अमेरिकासँग भन्यो ‘हामीले आक्रमण गर्दैनौं’
काठमाडौं। युक्रेनको सीमामा रुसी सैनिक तैनाथ भएको विषयलाई लिएर अमेरिकाले रुसमाथि युक्रेनमा आक्रमण गर्न लागेको आरोप लगाएपछि रुसले अमेरिकासँग आफ्नो युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । दुई देशका अधिकारीहरुको स्विट्जरल्याण्डको जेनेभामा भएको बैठकमा रुसका अधिकारीहरुले अमेरिकालाई यस विषयमा प्रस्ट पारेका हुन् ।
सोमबार ७ घण्टासम्म चलेको बैठकपछि दुवै पक्ष तनाव कम गर्ने विषयमा सहमत भएका छन् । यद्यपि छलफलका क्रममा कुनै ठूलो उपलब्धी भने हासिल भएको छैन । युक्रेनसँग जोडिएको रुसी सीमामा करिब १ लाख रुसी सैनिक तैनाथ छन् । यी सैनिकहरुले युक्रेनमा आक्रमण गर्न सक्ने पश्चिमी देशहरुले आशंका गरेका छन् । यस विषयमा पश्चिमले रुसलाई चेतावनी दिइसकेको छ । अमेरिकाले यदि रुसले युक्रेनमाथि आक्रमण गरे रुसमाथि कैयौं प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
रुसले पनि अमेरिकालाई चेतावनी दिँदै पश्चिमी शक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने आफ्नो क्षमतालाई कम नआँक्न भनेको छ । रुसका उप विदेशमन्त्री सर्गेइ रेयाबकोफले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने ‘हामीले आफ्ना सहयोगीहरुलाई बताएका छौं कि हाम्रो युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना छैन ।’
उनका अनुसार रुसीहरुले अमेरिकी समकक्षीहरुलाई ‘सैनिकको युद्ध प्रशिक्षणको सबै उपाय र बल हाम्रो क्षेत्रमै छ र यस सन्दर्भमा कुनै पनि खतरा बढाउने कुनै कारण छैन’ भनेका छन् । अमेरिकी उप विदेशमन्त्री वेंडी शरमनले वार्ता स्पष्ट भएको र दुवै पक्षका सुरक्षा चिन्ताहरुलाई राम्रोसँग बुझ्नको लागि यो बैठक उपलब्धीमूलक भएको बताइन् ।







डिसी नेपाल







Facebook Comment