राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघीले योगदान गरेकाे छ : राष्ट्रपति भण्डारी
काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताएकी छन्।
माघी र माघे संक्रान्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ। हाम्रा धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रितरूपले जोडिएका छन्। नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहार पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्छ।
कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ-आफ्नो स्वास्थ्यको ख्याल गरी माघी मनाउन उनले सबैमा आह्वान पनि गरेकी छन्। आजको दिन तिलको लड्डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ। यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment