आफ्नै मृत्युको नाटक गरेर हंगामा मच्चाउने भगौडा बेलायतमा समातिए

डिसी नेपाल
१ माघ २०७८ ११:०४
792
Shares

काठमाडौं। बेलायतको ग्लासगोस्थित अस्पतालमा गत महिना गिरफ्तार गरिएका एक अमेरिकी भगौडालाई अमेरिका फिर्ता पठाउने प्रक्रिया सुरु गरिँदैछ । अन्तर्राष्ट्रिय एजेन्सी इन्टरपोलले अमेरिकी प्रान्त उटाहमा लम्बित बलात्कारको एक मुद्दामा निकोलस रोसी नामक ३४ वर्षीय व्यक्तिको खोजी गरिरहेको थियो ।

गएको डिसेम्बरमा यी व्यक्तिलाई कोभिड–१९ संक्रमण भएपछि ग्लासगोस्थित क्विन एलिजाबेथ अस्पतालमा आर्थन नाइट भन्ने फर्जी नामबाट भर्ना गरिएको थियो । स्कटल्याण्ड पुलिसका अनुसार उनलाई एक अन्तर्राष्ट्रिय अरेस्ट वारेन्टका आधारमा हिरासतमा लिइएको हो ।

अमेरिकी एजेन्सीहरुले पनि निकोलस रोसी रोड आइल्याण्डमा निकोलस अलाहवर्डियनको नामबाट पनि चिनिने, त्यहाँको स्थानीय राजनीतिमा सक्रिय रहेको र सरकारको बाल कल्याण कार्यक्रमका प्रखर आलोचक रहेको पुष्टि गरेका छन् ।

रोसीले २०१९ को डिसेम्बरमा अमेरिकी मिडियासँग कुरा गर्दै आफू दीर्घकालिन नन हजकिन लिम्फोमा रोगबाट ग्रस्त रहेको र उनको जीवनमा अब केही हप्ता मात्र बाँकी रहेको बताएका थिए । त्यसपछि कैयौं मिडिया संस्थानले २०२० मा उनको मृत्युको समाचार प्रकाशन तथा प्रसारण गरेका थिए ।

तर बेलायतको ग्लासगोमा निकोलस रोसी पक्राउ परेपछि यी समाचारहरु झुटो भएको प्रमाणित भएको छ । अमेरिकी अधिकारीहरुले रोसीको प्रत्यार्पण प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *