७ वटा यात्रुवाहक विमानमा १८ जना आतंकवादी, उडिरहेको विमानभित्रै बम पड्काउने योजना !
काठमाडौं। अमेरिकामा ११ सेप्टेम्बर २००१ मा वर्ल्ड ट्रेड सेन्टर समेत कैयौं स्थानमा आतंकवादीहरुले विमानबाट आक्रमण गरेका थिए । यो आक्रमणले अमेरिकासहित पूरै विश्व हल्लिएको थियो । ठिक त्यस्तै किसिमको अर्को आक्रमण बेलायतमा पनि गर्ने जिहादी संगठनले षड्यन्त्र बनाइरहेका थिए । अमेरिकी गुप्तचर एजेन्सी सीआइएका एक अधिकारीले यसको खुलासा गरेका हुन् ।
द सनमा प्रकाशित रिपोर्टका अनुसार अमेरिकामा जस्तै आतंकवादी आक्रमणको योजना बनाइएको थियो । आतंकवादीहरुले २००६ मा १८ जना आत्मघाती बम आक्रमणकारी ७ विमानमा चढ्ने योजना बनाइएको थियो । त्यसपछि आकाशमा उडिरहेका बेला सातवटै विमानलाई आकाशमै विष्फोट गरेर उडाइदिने योजना थियो । यी विमानमा बम राख्ने पनि पूरै योजना बनाइएको थियो । अमेरिकी खुफिया एजेन्सी सीआइएका पूर्व अधिकारीले यो कुराको खुलासा आफ्नो किताबमा गरेका हुन् ।
यी अधिकारीले किताबमा दावी गरेअनुसार स्कटल्याण्ड यार्डले ती जिहादीहरुलाई विमानमा चढ्ने अनुमति दिन चाहन्थ्यो । त्यसपछि उनीहरुलाई पक्राउ गर्ने योजना बनाइएको थियो । यदि आतंकवादीहरु यो आक्रमणमा सफल भएका भए यो बेलायतको इतिहासकै सबैभन्दा ठूलो आतंकवादी आक्रमण हुन्थ्यो । आतंकवादीहरुले यसको लागि एनर्जी बोतलमा तरल अवस्थाको विष्फोटक सुईको माध्यमबाट इन्जेक्ट गर्ने योजना बनाएका थिए ।
तर, यो षड्यन्त्रको खुलासा आक्रमण हुनुभन्दा पहिले नै भयो । यो घटनामा २४ जना आतंकवादी पक्राउ परेका थिए । यी आतंकवादीहरु २००६ को अगष्ट ९ को राती पक्राउ परेका थिए । पक्राउ पर्नेमध्ये अब्दुल्ला अहमद अली पनि थिए जो यो आक्रामणका मुख्य योजनाकार थिए । खासमा अब्दुल्ला अहमद अली बेलायती एजेन्सीको राडारमा २००५ मा आएका थिए । त्यतिबेला उनको उमेर २४ वर्ष थियो । उनी आफ्ना ८ महिनाका छोरासँग कैयौं पटक पाकिस्तान गएका थिए ।
पाकिस्तानमा उनले अल कायदाका सदस्य राशिद रउफसँग भेटेका थिए । त्यहाँ उनले अल कायदाको ट्रेनिङ क्याम्पमा गएर बम बनाउन सिकेका थिए । योजना अनुसार राशिद रउफले पहिले विमानमा रोजवाटर लिएर गएका थिए । त्यतिबेला उनले देखे कि तरल पदार्थलाई धेरै जाँच गरिँदैन ।
४२ वर्षका पूर्व सीआइए अधिकारी अकी पेरित्जले डिस्रप्सन नामको किताब लेखेका छन् । यो किताबमा यी सबै कुराहरुको खुलासा गरिएको छ । उनले आफ्नो किताबमा लेखेअनुसार २००६ मा विमानमा बम राख्ने षड्यन्त्र रचिएको थियो । यो षड्यन्त्रलाई अहिले पनि बेलायतका खुफिया एजेन्सीहरुले एमआइ फाइभ, एमआइ सिक्स, जीसीएचक्यु लगायतले सबैभन्दा ठूलो आतंकवादी आक्रमणलाई विफल पारिएको रुपमा हेर्ने गर्छन् ।
यो आतंकवादी आक्रमणमा १८ जना आत्मघाती आक्रमणकारी बोतल बमलाई ३० हजार फिटको उचाइमा विमानभित्र पड्काउँदै थिए । यो घटनामा ठूलो संख्यामा मानिसहरुको ज्यान जान सक्थ्यो । यदि यो दुर्घटना भएको भए हवाइ यात्राको स्वरुप सधैंका लागि बदलिन्थ्यो । यद्यपि समयमै आतंकवादीहरुलाई समातियो । गत महिना द सनसँग कुरा गर्दै एमआइ फाइभका प्रमुख केन म्याकुलमले यो आतंकवादी आक्रमणलाई विफल पार्नु उनको करिअरको सबैभन्दा स्मरणीय र गर्व गर्न लायक घटना भएको बताएका थिए ।
किताब लेख्ने पूर्व सीआइए अधिकारी अकी पेरित्ज ओसामा बिन लादेनलाई खोज्न जुटेको सीआइए टिमका सदस्य थिए । उनले किताबमा खुलासा गरेअनुसार राशिद रउफ यो आक्रमणका प्रमुख सूत्रधार थिए । उनीसँग बेलायत र पाकिस्तानको दोहोरो नागरिकता थियो । उनी अल कायदाका सदस्य थिए । बेलायतमा २००५ मा ७÷७ आक्रमण हुँदा ५२ जना मारिएका थिए । राशिद यो आक्रमणका पनि सूत्रधार थिए । २००७ मा राशिद पाकिस्तानको जेलबाट भागेका थिए र एक वर्षपछि अमेरिकाको ड्रोन आक्रमणमा मारिए ।







डिसी नेपाल







Facebook Comment