चीन र ताइवानबीच युद्ध भयो भने के हुन्छ ?
काठमाडौं। यस हप्ता चीनका ५ लडाकु विमानले ताइवानको सीमामा प्रवेश गरे । चीनका विमानले गत वर्ष एक रेकर्ड बनाएपछि यस वर्ष पनि दुई हप्ताको अवधिमा ९ पटक ताइवानको सीमामा घुसपैठ गरेको छ । घुसपैठका यी घटनाले चीन र ताइवानबीच तनाव लगातार बढिरहेको छ । यसको मुख्य कारण ताइवानलाई चीनमा विलय गराउने लक्ष्य हो ।
चीनका राष्ट्रपति शी जिनपिङले भनेका छन् ‘ताइवानसँग चीनको फेरि एकीकरण अवश्य हुनेछ ।’ उनले यो लक्ष्य हासिल गर्नको लागि शक्तिको प्रयोग गरिने सम्भावनालाई अस्वीकार गरेका छैनन् । चीन ताइवानलाई आफ्नो एक प्रान्त मान्छ जो अन्ततः एक दिन चीनमा विलय हुनेछ । अर्कोतर्फ ताइवान भने आफूलाई स्वतन्त्र देश मान्छ । ताइवानको आफ्नो संविधान छ र त्यहाँ जननिर्वाचित सरकारको शासन छ ।
ताइवान दक्षिण पूर्वी चीनको तटबाट करिब १०० माइल टाढा रहेको एक द्विप हो । यो पहिलो द्विप श्रृंखलामा छ जसमा अमेरिका समर्थक अन्य देश पनि छन् । अमेरिकाको विदेश नीतिको हिसाबले यी सबै द्विप निकै महत्वपूर्ण छन् । चीनले यदि ताइवानमाथि कब्जा गर्यो भने पश्चिमी जानकारहरुको रायअनुसार चीन पश्चिमी प्रशान्त महासागरमा आफ्नो दबदबा देखाउन स्वतन्त्र हुनेछ । त्यसपछि गुआम र हवाइ द्विपमा रहेका अमेरिकी सैन्य अड्डालाई पनि खतरा हुन सक्छ । चीनले आफ्नो लक्ष्य पूर्ण रुपमा शान्तिपूर्ण रहेको दावी गरेको छ ।
चीन र ताइवानबीच विभाजन दोस्रो विश्वयुद्धपछि भएको हो । त्यतिबेला चीनको मुख्य भूमिमा चिनियाँ कम्युनिस्ट पार्टीको त्यहाँको सत्ताधारी नेशनलिस्ट पार्टी (कुओमिंतांग)सँग युद्ध चलिरहेको थियो । १९४९ मा माओत्से तुंगको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले जित्यो र राजधानी बेइजिङमा कब्जा गर्यो । त्यसपछि कुओमिंतांगका मानिसहरु मुख्य भूमिबाट भागेर दक्षिण पश्चिमी द्विप ताइवानमा गए । त्यसपछि अहिलेसम्म ताइवानमा कुओमिंतांग त्यहाँको सबैभन्दा अहम पार्टी बनेको छ । ताइवानको इतिहासमा धेरैजसो समय कुओमिंतांगकै शासन चलिरहेको छ ।
अहिले विश्वका केवल १३ देश ताइवानलाई छुट्टै र सार्वभौम देश मान्छन् । ताइवानलाई मान्यता नदिनको लागि चीनको अन्य देशमाथि धेरै कुटनीतिक दबाब छ । चीनले अन्य देशहरुलाई ताइवानले पहिचान पाउने खालका कुनै गतिविधि गर्न नदिन पनि प्रयास गरिरहन्छ । ताइवानका रक्षा मन्त्रीले आफ्नो देशको चीनसँगको सम्बन्ध विगत ४० वर्षयताकै सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
चीनले सैन्य बाहेक अन्य कदम उठाएर पनि ताइवानलाई आफ्नो देशमा मिलाउन सक्छ । यस्तो दुई देशको आर्थिक सम्बन्ध बलियो बनाएर हुन सक्छ । तर दुई देशबीच युद्ध भयो भने ताइवानको सैन्य शक्ति चीनको अगाडि केही पनि होइन । चीनको आफ्नो सेनामा वार्षिक खर्च अमेरिकापछि सबैभन्द धेरै छ । उसको सैन्य शक्ति धेरै विविध र विशाल छ । मिसाइल प्रविधि, नौसेना वा वायुसेना मात्र होइन साइबर आक्रमणमा पनि चीनको मुकाबिला केही सीमित देशहरुले मात्र गर्न सक्छन् ।
इन्टरनेशनल इन्स्टिच्युट अफ स्टटेजिक स्टडिजका अनुसार चीनका सबै सैनिकको संख्या जोड्ने हो भने त्यहाँ २० लाख ३५ हजारभन्दा धेरै सक्रिय सैनिक छन् । ताइवानमा केवल १ लाख ६३ हजार सैनिक छन् । यस हिसाबले चीनको शैन्य जनशक्ति मात्रै ताइवानको भन्दा १२ गुणा बढी छ । स्थल सैनिकको कुरा गर्दा चीनसँग ९ लाख ६५ हजार स्थल सैनिक छन् भने ताइवानसँग यसको ११ गुणा कम ८८ हजार मात्र छन् । नौसेनामा चीनका ३ लाख ६० हजार सैनिक छन् भने ताइवानका ४० हजार छन् । चीनको वायुसेनामा करिब ४ लाख सैनिक छन् भने ताइवानको वायुसेनामा ३५ हजार मात्र छन् । चीनसँग ४ लाख १५ हजार अन्य किसिमका सैनिक छन् र ताइवानसँग छैनन् ।
पश्चिमका कैयौं जानकारहरुको अनुमान अनुसार दुई देशबीच यदि आमने सामनेको भिडन्त भयो भने ताइवानले धेरै कोसिस गरेर चीनको आक्रमणलाई केही हल्का मात्र पार्न सक्छ । अमेरिकाले ताइवानलाई हतियार बेच्छ त्यसैले उसले अमेरिकाको सहयोग पाउन सक्छ । तर, अमेरिकाको औपचारिक नीति ‘कूटनीतिक अस्पष्टताको’ रहेको छ । अर्को शब्दमा भन्दा अमेरिकाले जानीजानी आक्रमणको अवस्थामा ताइवानको सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा आफ्नो नीति स्पष्ट पार्दैन ।
कूटनीतिक रुपमा अमेरिकाले अहिले ‘एक चीन नीति’को समर्थन गर्छ । यसको अर्थ हो अमेरिकाको आधिकारिक लाइनअनुसार बेइजिङ सरकार नै वास्तविक चीनको प्रतिनिधि हो । उसको औपचारिक सम्बन्ध ताइवानको सट्टा चीनसँग छ । २०२१ मा चीनले ताइवानको वायु रक्षा क्षेत्रमा आफ्ना लडाकु विमान पठाएर दबाब बढाएको थियो । कुनै देशको वायु रक्षा क्षेत्र त्यो हो जहाँ देशको रक्षाको लागि विदेशी विमानलाई पहिचान गरेर तिनीहरुमाथि निगरानी र नियन्त्रण गरिन्छ ।
ताइवानले २०२० मा विमानको घुसपैठको तथ्यांक सार्वजनिक गरेको थियो । यस प्रकारका घुसपैठमा तीब्रता गत वर्ष अक्टोबरमा आएको थियो । अक्टोबर २०२१ मा एकै दिन चीनका ५६ लडाकु विमान ताइवानको क्षेत्रमा प्रवेश गरेको सूचना आएको थियो । ताइवानको अर्थव्यवस्था पनि विश्वको लागि निकै महत्वपूर्ण छ । विश्वले दैनिक प्रयोग गर्ने इलेक्ट्रिक ग्याजेटहरु मोवाइल फोन, ल्यापटप, बडी र गेमिङ उपकरणमा जो चिप जडान गरिन्छ ती चिप धेरैजसो ताइवानमा बन्छन् ।
चिपको मामिलामा अहिले ताइवान विश्वको सबैभन्दा ठूलो आवश्यकता हो । उदाहरणको लागि ‘वन मेजर’ नामको कम्पनीलाई लिन सकिन्छ । विश्वभरी प्रयोग हुने चिपमध्ये आधा चिप यो कम्पनीले एक्लै उत्पादन गर्छ । २०२१ मा विश्वको चिप उद्योग १०० अर्ब डलरको थियो । यो उद्योगमा ताइवानको दबदबा छ । यदि ताइवानमाथि चीनको नियन्त्रण भयो भने विश्वको यति अहम उद्योगमा चीनको नियन्त्रण हुनेछ ।
पछिल्लो अनुसन्धानका अनुसार चीन र ताइवानबीच तनाव बढे पनि यसको असर त्यहाँका जनतामा परेको छैन । अक्टोबरमा ताइवान पब्लिक ओपिनियन फाउण्डेशनले जनतासँग के उनीहरु चीनसँग युद्ध हुन्छ भन्ने सोच्छन् ? भनेर सोधेको थियो । ताइवानका करिब ६४ प्रतिशत जनताले युद्ध हुँदैन भनेका थिए । अर्को एक अनुसन्धानमा ताइवानी जनता आफूहरुलाई चिनियाँ जनताभन्दा अलग मान्छन् भन्ने खुलासा भएको थियो । नेशनल चेंग्ची युनिभर्सिटीको एक सर्वेमा आज ताइवानी जनतामा ताइवानी बहिचान बढ्दै गएको पाइएको थियो ।







डिसी नेपाल







Facebook Comment