सहिदको सम्मानमा ५ दशकदेखि जलिरहेको ‘अमर जवान ज्योति’लाई इण्डिया गेटबाट हटाइँदै

डिसी नेपाल
७ माघ २०७८ ११:१०
1.8k
Shares

काठमाडौं। भारतको राजधानी दिल्लीमा ५ दशकदेखि इण्डिया गेटमा सहिदको सम्मानमा जलिरहेको अमर जवान ज्योतिलाई आज त्यहाँबाट हटाइँदैछ । यो ज्योतिलाई आज दिउँसो एक कार्यक्रमका बीच इण्डिया गेटबाट हटाएर राष्ट्रिय युद्ध स्मारकमा राखिनेछ । आजदेखि यो ज्योति राष्ट्रिय युद्ध स्मारकमा जल्नेछ ।

१९७१ मा भएको भारत पाकिस्तान युद्धमा सर्वोच्च बलिदान दिने सैनिकहरुको स्मृतिमा १९७२ मा इण्डिया गेटमा अमर जवान ज्योतिको स्थापना गरिएको थियो । भारतले पाकिस्तानसँग १९७१ मा भएको युद्धको ५० वर्ष पूरा भएको अवसरमा अमर जवान ज्योतिलाई राष्ट्रिय युद्ध स्मारकमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । इण्डिया गेटमा अमर जवान ज्योतिको रुपमा जलिरहेको आगोको ज्वालालाई गणतन्त्र दिवसभन्दा पहिले नै राष्ट्रिय युद्ध स्मारकमा जलिरहेको आगोको ज्वालासँग विलय गरिँदैछ ।

भारतले २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउँछ । अमर जवान ज्योति स्मारकको माथिपट्टि एउटा उल्टो बन्दुक र सैनिकको हेल्मेट बनाइएको छ । यसको छेउवा एक शाश्वत ज्योति जलिरहेको छ । २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय युद्ध स्मारकको उद्घाटन गर्दा अमर जवान ज्योतिको मूल ज्वाला यहीँ जलाइँने निर्णय गरिएको थियो ।

राष्ट्रिय युद्ध स्मारकको निर्माणभन्दा पहिले गणतन्त्र दिवसमा राष्ट्र प्रमुख, सेना प्रमुख र अतिथि प्रतिनिधि अमर जवान ज्योतिमा सहिद सैनिकको सम्मान गर्थे । तर, पछि यो पूरै प्रक्रियालाई राष्ट्रिय युद्ध स्मारकमा स्थानान्तरित गरिएको थियो । राष्ट्रिय युद्ध स्मारकमा नयाँ अमर जवान ज्योति ज्वाला जलाइएको छ । अहिले सबै अवसरमा यहीँ सहिदहरुको लागि श्रद्धाञ्जली र पुष्पाञ्जली कार्यक्रम आयोजना गरिन्छ ।

राष्ट्रिय युद्ध स्मारक ती सैनिकहरु र गुमनाम नायकहरुको स्मृतिमा बनाइएको थियो जसले भारतको स्वतन्त्रतापछि देशको रक्षा गर्ने क्रममा आफ्नो बलिदान दिएका थिए । नयाँ स्मारक इण्डिया गेट परिसरमा ४० एकड क्षेत्रफलमा फैलिएको छ । यसको भित्तामा सहिदहरुको नाम लेखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *