रुस–युक्रेन संघर्ष सुरु भइसकेको रक्षा विशेषज्ञको दावी, युद्ध सुरु भएको कसरी थाहा हुन्छ ?

डिसी नेपाल
१२ माघ २०७८ १७:००

काठमाडौं। पूरै विश्वको ध्यान यतिबेला यो कुरामा छ कि युक्रेनका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चाहना के हो ? संघर्ष बढ्न सक्ने आशंकामा अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई बाहिर निकालिरहेको छ । तर, रक्षा विशेषज्ञ जोनाथन मार्कस भने यो संघर्ष पहिले नै सुरु भइसकेको हुन सक्ने मान्छन् । अहिले सबैतिर रुस र युक्रेनबीच युद्ध हुन्छ ? के रुसले युक्रेनमाथि आक्रमण गर्छ ? के राष्ट्रपति पुटिन हरेक अवस्थामा युद्ध चाहन्छन् वा कूटनैतिक बाटोबाट शान्तिसम्म पुग्न सकिन्छ ? जस्ता प्रश्न छन् । तर, रुसका राष्ट्रपति पुटिनको दिमाग कसैले पढ्न सक्दैन । यस्तोमा रुस र युक्रेनबीच युद्ध सुरु भएको कसरी थाहा हुन्छ ?

रक्षा विशेषज्ञ जोनाथन मार्कसका अनुसार जवाफ सीधा छ । युक्रेनको सीमा पार गर्दै रुसका ट्यांक वा ठूलो मात्रामा रकेट ब्यारेज वा युक्रेनका अड्डामा रुसी हवाइ आक्रमणले स)कट बढेको र संघर्ष नयाँ चरणमा पुग्न सक्ने दर्शाउँछन् । मार्कसका अनुसार निसन्देश युद्ध सुरु भएपछि पहिले अलर्ट युक्रेनको सेनाबाट नै आउनेछ तर पश्चिमी देशका स्याटेलाइट र खुफिया सूचना जम्मा गर्ने एयरक्राफ्टले पनि एक भीषण आक्रमणको तयारीको बारेमा राम्रोसँग जानकारी दिन सक्छन् ।

अमेरिकास्थित सेन्टर फर नेवल एनालिसिसमा रुसी सेनाका विशेषज्ञ माइकल कोफम्यानका अनुसार आगामी समयमा हमलाको स्पष्ट संकेत देखिनेछ । युद्ध सुरु भइसकेको छ भन्ने कुरा कसरी थाहा पाउने भन्ने प्रश्नमा माइकल भन्छन् ‘पहिलो संकेत सैनिकको संख्यामा वृद्धि हुनेछ । अहिले सीमामा सैन्यबलको तुलनामा भारी उपकरण तैनाथ गरिएका छन् । यसका अलावा अन्य संकेत सैन्य बल हरेक तर्फ फैलिनु, सहायक उपकरण ल्याइनु, फिक्स्ड विंग र रोटरी एभिएसनमा परिवर्तन हुन सक्छ ।’

रक्षा विशेषज्ञ मार्कसका अनुसार यो प्रश्नको जवाफ अर्को तरिकाले पनि दिन सकिन्छ । यसको लागि हामी पछाडि जानुपर्छ र युक्रेनविरुद्ध रुसी अभियानलाई राम्रोसँग हेर्नु आवश्यक हुन्छ । हामीले मस्कोसँग उपलब्ध पूरै टुलकिटलाई हेर्नुपर्छ र यो आंकलन गर्नुपर्छ कि यसको प्रयोग कसरी गरिँदैछ । र, त्यसपछि जब तपाइँ सोध्नुहुन्छ कि हामीले संघर्ष सुरु भइसकेको कसरी थाहा पाउने ? यसको जवाफ ‘संघर्ष पहिल्यै सुरु भइसक्यो’ भन्ने पनि हुन सक्छ ।

रुसले पहिले नै युक्रेनको हिस्सा रहेको क्रिमिया कब्जा गरिसकेको छ । यसका अलावा रुसले डोनबास क्षेत्रमा किभ विरोधी विद्रोहीहरुलाई सहयोग पनि गर्छ । खासमा २०१४ मा युक्रेनी सेनाविरुद्ध रुसले पठाएका बख्तरबन्द र मेसिकीकृत इकाइहरुले नै रुस समर्थक किभ विद्रोहीहरुलाई हारबाट बचाएका थिए । त्यतिबेलादेखि नै छिटफुट लडाइ जारी छ । त्यहाँ सबै पक्ष एक अन्तर्राष्ट्रिय शान्ति प्रयासको समर्थन गर्ने मानिन्छ तर यस दिशामा निकै कम प्रगति भएको छ ।

यो सैन्य दबाबको अलावा भारी संख्यामा सैन्य तैनाथीको पनि खतरा छ । युक्रेनको सीमा आसपास रुसी लडाकु फर्मेसनको निर्माण असाधारण छ । यसमा बेलारुसका बलको महत्वपूर्ण तैनाथी पनि समावेश छ । बेलारुसको सीमा पनि युक्रेनसँग जोडिन्छ । यो युक्रेनको राजधानी किभतर्फ आक्रमणको लागि नजिकको विन्दु बन्न सक्छ ।

आसपासका देशका सीमामा सैन्य तैनाथीलाई रुसी प्रवक्ता एक सामान्य अभ्यास बताउँछन् र यो कसैलाई चेतावनी दिनको लागि नगरिएको बताउँछन् । तर, जुन परिमाणमा यहाँ सैन्य टुकडीहरु तैनाथ गरिएका छन् र जसरी यिनीहरुलाई सहायता पुर्याइएको छ त्यसबाट थाहा हुन्छ कि यो नियमित युद्धाभ्यास भन्दा कैयौं अधिक छ ।

विश्लेषक उपग्रह तस्वीरको माध्यमबाट यो सैन्य बल तैनाथीमा निगरानी गरिरहेका छन् । इन्टरनेटमा रहेका मोवाइलबाट बनाइएका कैयौं भिडियोमा युक्रेन वा बेलारुसतर्फ उपकरणले भरिएका ट्रेनहरु गइरहेको देखिएका छन् । सामाजिक संजालमा पोस्ट भइरहेका सामग्रीको आंकलन र सीमामा भारी मात्रामा पुगिरहेका सैन्य साजोसामानबाट यहाँ के चलिरहेको छ भन्ने अनुमान गर्न सकिन्छ । मस्कोले भलै जेसुकै भनोस् तर युक्रेन र उसका मित्र पश्चिमी देशका लागि चिन्ता गर्ने एक भन्दा धेरै कारण छन् ।

एकतर्फ रुसले आफूले युद्धको तयारी नगरेको बताउँदै आएको छ तर धेरै हदसम्म युद्धको तयारी गरिरहेको छ । यत्तिकै महत्वपूर्ण कुरा रुससँग पेश गर्नको लागि एक अलग कहानी छ । यो यस्तो कहानी छ जहाँ पीडित युक्रेन होइन बरु खतरा रुसलाई छ । यो अमेरिकालाई दिइएका ती दस्तावेजको सार हो जो नेटोको विस्तार रोक्न चाहन्छन् र केही मानकमा मस्कोको लागि प्रभावको एक नयाँ क्षेत्र बनाउन चाहन्छन् ।

रणनीतिक र अन्य हतियार प्रणालीका विषयमा छलफल जस्ता रुसका चिन्ताहरुलाई केही पक्षमा राम्रो विचारको रुपमा हेरिएको छ तर यसबाट नेटोको विस्तारमा कुनै परिवर्तन हुने सम्भावना छैन र सम्भवतः रुसलाई पनि यो राम्रोसँग थाहा छ । तर, रुसको कहानीको अर्को उद्देश्य पनि छ । यो त्यो कहानी हो जसको माध्यमबाट रुस युक्रेनका विषयमा जारी चर्चाहरुलाई एक दिशा दिने कोसिस गरिरहेको छ ।

रुसी टुलबक्सका विषयमा अर्को आशंका पनि छ – साइबर हमला र विध्वंश । उदाहरणको लागि सम्भव छ कि युक्रेनमाथि साइबर हमला गरिएको होस् । एक हप्ता पहिले ठूलो संख्यामा सरकारी वेबसाइटलाई निशाना बनाइएको थियो । यद्यपि यो आक्रमण कताबाट गरिएको थियो भन्ने स्पष्ट छैन । हालै बेलायतले पनि मस्कोले किभमा नयाँ सरकार बनाउनको लागि केही मानिस छानेको दावी गरेको थियो । तर, यो आशंका मात्र हो र यसमा रुसको हात भएको कुनै प्रमाण छैन ।

माइकल कोफम्यानका अनुसार साइबर आक्रमण रुसी आक्रमणको अहम हिस्सा हुन सक्छ किनकि रुस सैन्य आक्रमण सफल पार्न मुख्य आधारभूत संरचनालाई पंगु बनाएर युक्रेनको क्षमतालाई बाधित गर्न सक्छ । जब रुसले क्रिमियामाथि कब्जा गरेको थियो त्यतिबेला ‘हाइब्रिड’ र ‘ग्रे जोन वारफेयर’ को चर्चा निकै भएको थियो । यसमा भाग लिनेहरुले वर्दी त लगाएका थिए तर त्यसमा कुनै सेनाको कुनै प्रतीक थिएन ।

तर, यसमा कुनै शंका छैन कि ती सैनिक नै थिए । र, क्रिमियामा पहिले जस्ता सैन्य अभियान चलाइन्थे त्यस्तै किसिमबाट कब्जा गरिएको थियो, न कि कुनै गुप्त अभियानबाट । मौजुदा हालत ग्रे जोन युद्धको अवस्था जस्तै देखिन्छ अर्थात जहाँ थाहा हुँदैन कि त्यहाँ युद्ध छ वा शान्ति । तर, पश्चिमका कुराहरुलाई यसरी हेरिँदैन ।

रुसी सेनाले यस्तो नीतिमा महारथ हासिल गरेको छ जहाँ युद्ध र शान्ति एकसाथ देखिएको प्रतीत हुन्छ । जहाँ अलग अलग समयमा अलग अलग तरिकाको प्रयोग गरिन्छ, कहिले पालैपालो त कहिले एकसाथ । यद्यपि ती सबैको रणनीतिक लक्ष्य एउटै हुन्छ । र, त्यसैले भन्नुपर्छ कि संघर्ष सुरु भइसकेको छ । अब हेर्नुपर्ने कुरा यो हो कि रुसी राष्ट्रपति यो ग्रे जोनको स्थितिलाई कहिलेसम्म तान्न चाहन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *