रुसको आक्रमणको त्रासमा रहेको युक्रेनका राष्ट्रपतिको पश्चिमी देशलाई अप्रत्याशित अपिल

डिसी नेपाल
१५ माघ २०७८ ११:२५
1.5k
Shares

काठमाडौं। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरुसँग युक्रेनको सीमामा रुसी सैनिकको तैनाथीका बीच युद्धका विषयमा त्रास नफैलाउन अपिल गरेका छन् । उनले पत्रकारहरुसँग भने ‘जुनसुकै बेला आक्रमण हुन सक्छ जस्ता चेतावनीहरुले युक्रेनको अर्थ व्यवस्थामा खराब असर परिरहेको छ ।

यसअघि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिँदै अर्को महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने बताएका थिए । उनले यसलाई प्रबल सम्भावना भनेका थिए । अकोतिर रुसले पटक पटक एउटै कुरा गरिरहेको छ । रुसले पटक पटक आफ्नो युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नभएको बताउँदै आएको छ । शुक्रबार पनि रुसका विदेश मन्त्रीले मस्कोले युद्ध नचाहेको बताएका थिए ।

रुससँग जोडिएको युक्रेनको सीमामा करिब १ लाख रुसी सैनिक तैनाथ छन् । यसलाई लिएर अमेरिका र पश्च्मिी देशले लगातार युद्धको चेतावनी दिइरहेका छन् । अर्कोतर्फ युक्रेनका राष्ट्रपतिले आफ्नो पछिल्लो बयानमा आफूले पछिल्लो पटकको तुलनामा सैनिकको यो तैनाथीलाई ठूलो खतराको रुपमा नहेरेको बताएका छन् ।

एक संवाददाता सम्मेलनमा उनले भने ‘सम्मानित देशका नेताहरुको तर्फबाट यस्ता चेतावनी जारी भइरहेका छन् मानौं भोलि युद्ध हुने आशंका छ । यसबाट त्रासको माहोल बन्छ । यसबाट हाम्रो देशलाई कति असर परिरहेको छ ?’ आफ्नो सम्बोधनमा उनले देशभित्र यस किसिमको त्रास र अस्थिरताको स्थिति देशको लागि सबैभन्दा ठूलो खतरा भएको बताए ।

ह्वाइट हाउसकी प्रवक्ता एमिली होर्नका अनुसार अमेरिकी राष्ट्रपतिले रुसले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्न सक्ने प्रबल सम्भावना रहेको बताएका छन् । उनले यो सार्वजनिक रुपमा भनेका छन् र आफूहरुले कैयौं महिनादेखि यसको चेतावनी दिइरहेको बताएका छन् । प्रवक्ताका अनुसार युक्रेनका राष्ट्रपतिसँगको कुराकानीमा अमेरिकी राष्ट्रपतिले युक्रेनमाथि आक्रमणको अवस्थामा अमेरिका र उसका सहयोगीले रुसलाई निर्णायक जवाफ दिने बताएका छन् ।

रुसले भने आक्रमणका आशंकालाई गलत भनेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरुको अगाडि कैयौं मागहरु राखेका छन् । उनले पश्चिमी देशहरुसँग जोड दिएर भनेका छन् कि युक्रेनलाई कहिल्यै पनि नेटोको सदस्य बन्न दिन पाइने छैन र नेटो संगठनले पूर्वी युरोपमा आफ्ना सबै सैन्य गतिविधि छोड्नुपर्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *