भारतलाई हिन्दू राष्ट्र घोषणा गर्ने प्रस्ताव प्रयागराज धर्मसंसदबाट पारित !

डिसी नेपाल
१६ माघ २०७८ ११:१३
5.7k
Shares

काठमाडौं। भारतको उत्तर प्रदेशको प्रयागराजमा रहेको ब्रह्मर्षि आश्रममा आयोजित धर्म संसदले भारतलाई हिन्दू राष्ट्र घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । हिन्दू सर्वोच्चतावादी संगठनहरुले पछिल्ला केही महिनायता आयोजना गर्दै आएका यस्ता धर्म संसद निकै विवादित बनेका छन् । तर, यही धर्म संसदको पछिल्लो कार्यक्रममा भारतलाई हिन्दू राष्ट्र घोषणा गर्ने प्रस्ताव पारित गरिएको हो ।

हिन्दू सर्वोच्चतावादी संगठनहरुले गर्ने गरेका यस प्रकारका सभाहरुमा मुस्लिमहरुको नरसंहारको आह्वान गरिएको भन्दै पछिल्लो समय निकै विवाद भएको छ । रुवान्डामा हुती विद्रोहीहरुको नरसंहारको प्रक्षेपण गर्ने विज्ञले यिनै धर्म संसद र यसमा हुने गतिविधिप्रति मोदी सरकारको लचिलोपनका आधारमा भारतमा छिटै मुस्लिमको नरसंहार हुने प्रक्षेपण गरेका थिए । यो धर्मसंसद यही हिन्दू अतिवादको पछिल्लो संस्करण हो ।

प्रयागराजमा आयोजित धर्म संसदले देशका १२५ करोड जनताले स्वयं भारतलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने भनेको छ । संसदले आजैदेखि यो ठूलो जनसंख्याले भारतलाई हिन्दू राष्ट्र लेख्न सुरु गरे यो आन्दोलन ठूलो बन्ने भनेको छ । यो सम्मेलनको उद्देश्य भारतलाई हिन्दू राष्ट्र बनाउने र इस्लामिक जिहादलाई हटाउने भएको बताउँदै संसदले जनताको दबाबको अगाडि सरकार झुक्ने भनेको छ ।

यो सम्मेलनमा मुस्लिमहरुलाई दिइएको अल्पसंख्यकको दर्जा समाप्त गर्न माग गरियो । यसका साथै हिन्दुहरुको मठ मन्दिरको अधिग्रहण अन्त्य गर्ने प्रस्ताव पनि पारित गरियो । उनीहरुले जेलमा रहेका दुई धर्मगुरु नरसिंहानन्द गिरी महाराज र वसिम रिजवी उर्फ जितेन्द्र नारायण सिंह त्यागीलाई रिहा गर्न माग गरे । उनीहरुले यी दुवैलाई बिना शर्त रिहा गर्न माग गरेका छन् ।

यी दुवै धर्मगुरुहरुलाई केही दिनअगाडि पुलिसले पक्राउ गरेको हो । उनीहरुले हरिद्वारमा आयोजित यस्तै किसिमको धर्म संसदमा मुस्लिम समुदायप्रति घृणा फैलाउने भाषण गरेका थिए र मुस्लिमहरुको नरसंहारका लागि हिन्दूहरुलाई हतियार उठाउन आह्वान गरेका थिए । उनीहरुलाई साम्प्रदायिक द्वेष र घृणा फैलाएको र एउटा समुदायको सामूहिक हत्याको आह्वान गरेको आरोपमा पक्राउ गरी जेलमा राखिएको छ ।

प्रयागराजको सन्त सम्मेलनमा आएका धर्म गुरुहरुले स्थानीय प्रशासनले सन्तहरुलाई फोन गरेर यो कार्यक्रममा आउन नदिएको र धेरै किसिमका अवरोध खडा गरेको आरोप लगाएका छन् । उनीहरुले प्रयागराजमा धर्म संसदको नामबाट कार्यक्रम आयोजना समेत गरेनन् । पहिले धर्म संसद नामबाट आयोजना गरिएका कार्यक्रममा साम्प्रदायिक द्वेष फैलाइएपछि प्रशासनले यो नामबाट कार्यक्रम आयोजना गर्न रोक लगाएकोले उनीहरुले नाम फेरेर सन्त सम्मेलन बनाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *