अवैध रुपमा युरोप प्रवेश गर्न खोजेका नेपाली सहित १९ जनाको हिउँमा जमेर मृत्यु
काठमाडौं। अवैध रुपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका नेपाली सहित १९ जना आप्रवासीको हिउँमा जमेर मृत्यु भएको छ । टर्कीको सानो सहर एडिर्नेको गभर्नर कार्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार शवहरु भेटिएको ठाउँमा खोजी र उद्धार कार्य भइरहेको छ । गृहमन्त्री सुलेमान सोयलुका अनुसार मारिनेहरु २२ जनाको समूहमा थिए । सोयलुका अनुसार १९ जना इप्सालामा हिउँले कठ्यांग्रिएर मारिए ।
इप्साला युरोपेली संघ प्रवेश गर्नको लागि प्रयोग गरिने सीमा क्षेत्र हो । हिउँको तुफानबाट बाँच्न सफल भएकाहरुका अनुसार यसरी युरोप प्रवेश गर्न खोज्ने समूहमा नेपालीहरु पनि थिए । बाँच्न सफल भएकाहरुले टर्कीको हुर्रियत डेलीन्यूजसँग कुरा गर्दै आफूहरुलाई खाना समेत नदिएर ग्रीसको एउटा क्याम्पमा राखिएको बताएका छन् । सोही समूहमा रहेका बंगलादेशी रियाज एका अनुसार उनीहरु जनवरी ३१ मा ग्रीस प्रवेश गरेका थिए त्यसपछि ग्रीक सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरेर क्याम्पमा पठाएका थिए ।
‘उनीहरुले हामीलाई ३ दिनसम्म खाना पानी केही पनि दिएनन् । त्यहाँ हिमपात भइरहेको थियो र हामीसँग त्यसबाट बच्नको लागि उपयुक्त कपडा थिएनन्’ रियाजले भने । उनका अनुसार त्यसपछि ग्रीक सुरक्षाकर्मीहरुले उनीहरुलाई फेरि टर्कीतर्फ नै धपाइदिए । उनका अनुसार त्यसपछि कठिन यात्रा गर्दै उनीहरुले अन्ततः एउटा गाडी भेटेर सहयोग मागेपछि बच्न सफल भएका थिए । रियाजका अनुसार उनी गएको समूहमा पाकिस्तानी, अफ्रिकी, नेपाली र अफगानीहरु थिए र उनीहरु सबै मरे ।







डिसी नेपाल







Facebook Comment