पद्मसुन्दर लावतीको त्यागले कमल थापा अध्यक्ष भएका थिए
फाइल तस्वीर
काठमाडौं। उपप्रधानमन्त्रीसहित नौपटक मन्त्री भएका कमल थापा ‘भारी मन र पीडाबोध’ गरेर मंगलबार राप्रपाबाट बाहिरिए। चर्चा भएअनुसार उनी नयाँ हिन्दुवादी दल दर्ताको तयारीमा छन्। ‘राष्ट्रियता एकता पार्टी’, ‘राष्ट्रिय हिन्दुवादी पार्टी’लगायत नाममाथि छलफल भइरहेको स्रोत बताउँछ।
३१ वर्ष राप्रपामा बिताएका थापाले स्थापना गर्न लागेको पार्टीको नाम जे रहे पनि उनी राष्ट्रिय राजनीतिमा प्रभावशाली नेता भने हुन्। राजनीतिशास्त्रमा स्नातकोत्तर उनी राम्रो राजनीतिक सुझबुझ भएको हिन्दुवादी नेता मानिन्छन्। उनको अभिव्यक्ति कलाको तारिफ गर्नेहरू पनि छन्। तर, पार्टी फुटाइरहने र सत्तामा जानैपर्ने नेताको रूपमा पनि चिनिन्छन्।
उनै नेता थापालाई भने पूर्वपञ्चहरूको लाइनबाट अध्यक्ष बनाएर स्थापित गर्न सहयोग पुर्याउने नेताहरू भने रवीन्द्रनाथ शर्मा, पदमसुन्दर लावती र राजेश्वर देवकोटा हुन्। तिनै नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्थापना गरेका थिए। संस्थापक अध्यक्ष भए शर्मा। पार्टीे स्थापनाको उद्देश्य राजा ज्ञानेन्द्रलाई समर्थन गर्न रहेको थियो।
सूर्यबहादुर थापाको लोकेन्द्रबहादुर चन्दसँगै पशुपतिशमशेर जबरालगायत नेतासँग खटपट थियो। अन्ततः सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी स्थापना गरे। र, २८ चैत २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनअघि तीन नेताले थापालाई राप्रपा नेपालको अध्यक्ष बनाए।
शर्मा र देवकोटाको जोड भने लावतीलाई अध्यक्ष बनाउने भन्ने रहेको, तर लावतीले थापालाई अघि सारेकोे राप्रपाका पुराना नेता डा.गोविन्द खानियाँ बताउँछन्। शर्मा, लावती र देवकोटा दिवंगत भइसकेका छन्।







डिसी नेपाल








Facebook Comment