अमेरिकाको मोटेलमा मृत भेटिएका नेपालीको स्थानीय समुदायद्वारा दाहसंस्कार

डिसी नेपाल
२८ माघ २०७८ २२:४२

वासिंगटन डिसी । अमेरिकाको कोलोराडोस्थित डेनभर शहरको एउटा मोटेलमा मृत अवस्थामा फेला परेका नेपाली राजेन्द्र कार्कीको स्थानीय नेपाली समाजका सदस्यहरुले दाहसंस्कार गरेका छन् । उनी स्थायी ठेगाना नेपालको ओखलढुंगा रहेको पत्ता लागेको छ ।

उनी डेनभर शहरमा रहेको काठमाडौं नामक नेपाली रेष्टुरांमा काम छोडेर हिडेको एक महिनाभन्दा केही बढी दिनपछि शहरको मध्यभागमा रहेको एउटा मोटेलमा मृत फेला परेका थिए ।

उनी मोटेलमा गएर केही दिन बसेका रहेछन्, उनको कोठाको ढोका नखुलेको पाएपछि मोटेल व्यबस्थापनले स्थानीय प्रहरीलाई बोलाई ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा पाइएका थिए । तै पनि प्रहरीले उनलाई शुरुमा अस्पताल लगेको र डाक्टरले उनलाई मृत घोषित गरेको जानकारी स्थानीय नेपाली समाजका अभियन्ताहरुले पाएका छन् ।

मृत्युको कारण नेचुरल डेथ भनिएको रिपोर्ट दिइएको छ । थप अनुसन्धानका लागि रगतको स्याम्पल परीक्षणका लागि लगेको र त्यसको रिपोर्ट १२ हप्तामा मात्र दिइने जानकारी पनि पाएको एनआरएनएका बोर्ड सदस्य सुशील दाहालले डिसी नेपाललाई बताए ।

कार्कीको पासपोर्ट नम्बर राखेर वेवारिसे मृत्युसम्बन्धी अनुसन्धान गर्ने निकाय कोरोनर अफिसका अनुसन्धानकर्ता केली वारेनले वासिंगटन डिसीस्थित नेपाली दूतावासलाई पत्र लेख्दै आफन्त, नातेदारलाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका थिए । दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए),कोलोराडो च्याप्टरलाई सो जानकारी गराएपछि च्याप्टरले उनका बारेमा नेपालसम्म सोधखोज गरेको थियो ।

केही बर्षअघि अमेरिका आएका उनी कोलोराडो बस्दै आएका र विभिन्न नेपाली रेष्टुरांहरुमा काम गरेको पाइएको र उनको परिवारसंग पनि नेपालमा सम्पर्क गरी अन्तिम संस्कारको अनुमति लिइएको कोलोरोडो च्याप्टरका अध्यक्ष आरसी पन्तले डिसी नेपाललाई बताए ।

मोटेलमा मृत भेटिएका कार्कीको साथमा पासपोर्ट रहेको र खल्तीमा चारसय पचास डलर रहेको जानकारी प्रहरीले नेपाली समाजलाई गराएको थियो । उनको अन्तिम संस्कारका लागि गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरले स्थानीय नेपाली समुदायसंग रकम संकलन गरेको र सोही रकमबाट फेब्रुअरी ११ तारिक शुक्रबार विहान स्थानीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको थियो । उनको खल्तीमा फेला परेको रकम अन्तिम संस्कारका बेला दान गर्ने इच्छा परिवारले व्यक्त गरेपछि सोही अनुसार दान गरिएको थियो ।

कार्कीका एकजना भाइ नर्थ क्यारोलिनाबाट र अर्का सालो नाताका आफन्त पनि अन्तिम संस्कारका लागि कोलोराडो पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *