आइपिएलको लिलामी आजदेखि, कुन टिमसँग कति छ पैसा ? कुन खेलाडीमा सबैको नजर ?
काठमाडौं। आइपिएलको १५ औं सिजनको लागि खेलाडीहरुको लिलामी आजदेखि सुरु हुँदैछ । यो लिलामीपछि आइपिएलका टिमहरुको स्वरुप पूर्ण रुपमा बदलिनेछ । यस पटक मेगा अक्सन भएको र टिमहरुले बढीमा ४ जना मात्र खेलाडी रिटेन गर्न पाएकोले यस पटक हरेक टिमहरुले करिब २० जनाको आसपासमा खेलाडीहरु किन्नेछन् । त्यसैले यो मेगा अक्सनमा खेलाडीहरुमाथि करोडौं पैसा बर्सिने निश्चित छ । लिलामी आज र भोलि बैंगलोरमा हुँदैछ ।
यस पटक आइपिएलको लिलामीमा सहभागी हुनका लागि विश्वभरमा १ हजार २१४ खेलाडीले बीसीसीआइमा आवेदन दिएका थिए । यसरी आवेदन दिनेमा नेपालबाट पनि १५ जना खेलाडी थिए । तर, बीसीसीआइले खेलाडीहरु सर्टलिस्ट गरेर लिलामीमा जान पाउने खेलाडीहरुको अन्तिम सूची बनाउँदा ५९० खेलाडी मात्र परेका छन् । यसमा ३७० भारतीय र २२० विदेशी खेलाडीछन् । अन्तिम सूचीमा नेपालबाट सन्दिप लामिछाने मात्र परेका छन् ।
अन्तिम सूचीमा अफगानिस्तानका १७, अस्ट्रेलियाका ४७, बंगलादेशका ५, इङल्याण्डका २४, आयरल्याण्डका ५, न्यूजिल्याण्डका २४, दक्षिण अफ्रिकाका ३३, श्रीलंकाका २३, वेष्ट इण्डिजका ३४, जिम्बाब्बेका १, नेपालका १, अमेरिकाका १, नामिबियाका ३ र स्कटल्याण्डका १ खेलाडी छन् । यीमध्ये ४८ खेलाडीको बेस मूल्य २ करोड, २० खेलाडीको डेढ करोड र ३४ खेलाडीको मूल्य १ करोड छ । नेपालका सन्दिप लामिछानेको बेस मूल्य ४० लाख छ । यो सूचीमा दक्षिण अफ्रिकाका ४२ वर्षका इमरान ताहिर सबैभन्दा जेठा खेलाडी छन् र अफगानिस्तानका १७ वर्षका नूर अहमद सबैभन्दा कान्छा खेलाडी छन् ।
यो लिलामीमा जानुभन्दा अगाडि सबैभन्दा धेरै पैसा पंजाब किंग्ससँग छ । पंजाबले खेलाडी किन्नको लागि ७२ करोड रुपैयाँ बाँकी रखेको छ । राजस्थान रोयल्ससँग ६२.२ करोड, सनराइजर्स हैदराबादसँग ६८ करोड, रोयल च्यालेन्जर्स बैंगलोरसँग ५७ करोड, चेन्र्न सुपरकिंग्स, कोलकाता नाइटराइडर्स र मुम्बइ इण्डियन्ससँग समान ४८ करोड र दिल्ली क्यापिटल्ससँग ४७.५ करोड रुपैयाँ बाँकी छ ।
यस पटक दुई नयाँ टिम अहमदाबाद र लखनउ थपिएका छन् । यी नयाँ थपिएका टिमले ३–३ जना खेलाडी अनुबन्ध गरेका छन् । लखनउको कप्तानी केएल राहुलले गर्नेछन् भने अहमदाबादको टिमको कप्तानी हार्दिक पंड्याले गर्नेछन् । लखनउले केएल राखुलसँगै रवि विश्नोइ र मार्कुस स्टोइनिसलाई अनुबन्ध गरेको छ । अहमदाबादले हार्दिक पंड्याको साथमा राशिद खान र शुभमन गिललाई अनुबन्ध गरेको छ ।
लिलामीभन्दा अगाडि पंजाब किंग्सले मयंक अग्रवाल र अर्शदीप सिंहलाई रिटेन गरेको छ । यस्तै चेन्नइ सुपर किंग्सले महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड, रविन्द्र जडेजा र मोइन अली, मुम्बइ इण्डियन्सले रोहित शर्मा, सूर्यकुमार यादव, किरोन पोलार्ड र जसप्रित बुमराह, कोलकाता नाइटराइडर्सले भेंकटेश अय्यर, आन्द्रे रसेल, सुनील नरेन र वरुण चक्रवर्ती, सनराइजर्स हैदराबादले केन विलियमसन, उमरान मलिक र अब्दुल समादलाई रिटेन गरेको छ । यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले विराट कोहली, ग्लेन म्याक्सवेल र मोहम्मद सिराज, राजस्थान रोयल्सले जोस बटलर, संजू सामसन र यशश्वी जैसवाल, दिल्ली क्यापिटल्सले ऋषभ पन्त, पृथ्वी शा, अक्षर पटेल र एनरिक नोत्र्जेलाई रिटेन गरेका छन् ।
यस पटक डेभिड वार्नर लिलामीमा छन् र सफल कप्तान हुन् । त्यसैले धेरै टिकले उनलाई अनुबन्ध गर्ने प्रयास गर्नेछन् । दिल्ली क्यापिटल्सका पूर्व कप्तान श्रेयस अय्यर पनि लिलामीमा छन् । उनी दिल्लीको कप्तान रहँदा पनि निकै सफल थिए र उनले टिमलाई फाइनलसम्म लगेका थिए । त्यसैले उनलाई अनुबन्ध गर्न पनि टिमहरुबीच प्रतिस्पर्धा हुनेछ । यसका अलावा भारतीय खेलाडीहरु रविचन्द्रन अश्विन, शिखर धवन, मोहम्मद शमी, भुवनेश्वर कुमार, अजिंक्या राहाणे, शार्दुल ठाकुर, दीपक चहर, युजवेन्द्र चहल, मनीष पाण्डे, इशान किशन, हर्षल पटेल, वाशिंटन सुन्दर र दीपक हुडा पनि चासोका साथ हेरिएका खेलाडी हुन् ।
विदेशी खेलाडीहरुमा न्यूजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट, दक्षिण अफ्रिकी फास्ट बलर कागिसो रबाडा, दक्षिण अफ्रिकाका ब्याटर फाफ डु प्लेसिस, विकेटकिपर ब्याटर क्विन्टन डिकक, अस्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई पनि आफ्नो टिममा अनुबन्ध गर्न टिमहरुको प्रतिस्पर्धा हुन सक्छ ।







डिसी नेपाल







Facebook Comment