मन्त्री भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनसम्म स्थगित

डिसी नेपाल
१० फागुन २०७८ १०:३०
48
Shares

जनकपुरधाम। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित हुन पुगेको छ।

प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित हुन पुगेको हो।

‘आफैँ प्रस्तावक भएकाले संकल्न प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने हुन्छ। तर, म पूर्वनिर्धारित कार्यक्रम अनुसार पारिवारिक भ्रमणका लागि भारतको राँची आएको छु,’ साहले भने, ‘प्रहरी भर्नाका बारेमा प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर तथा म स्वयं बाहिर भएकाले बैठक सहमतिको आधारमा २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।’

उनका अनुसार १८ फागुनका स्वदेश फर्केपछि संकल्प प्रस्तावका बारेमा छलफलको प्रक्रिया अघि बढाइनेछ।

सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्तावबारेमा छलफल गर्न प्रदेशसभाको बैठक आज अपराह्न २ बजेका लागि बोलाइएको थियो। गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएको थियो। तर, सर्वोच्च अदालतमा परेको मुद्दा र मन्त्रीको पारिवारिक भारत भ्रमणका कारण संकल्प प्रस्तावमाथिको छलफल थप १२ दिनपछि धकेलिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.