युक्रेनको राजधानी किभमा विनाशको ताण्डव, सर्वसाधारण जनताले हतियार उठाए

डिसी नेपाल
१४ फागुन २०७८ ११:१८
14.1k
Shares

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चेतावनी जारी गर्दै आगामी घण्टामा रुसले राजधानी किभमा निकै विनाशकारी आक्रमण गर्न सक्ने बताएका छन् । उनले देशको नाममा सम्बोधन गर्दै नागरिकहरुलाई दृढ रहिरहन अपिल गरे ।

राजधानीमा रहेका हतियारका पसलहरुमा बन्दुक र अन्य हतियारहरु लगभग सकिइसकेका छन् । जनताहरु आफ्ना घरलाई बचाउनको लागि ज्यानको बाजी लगाउन तयार भएका छन् । पूर्वी युक्रेनका जनताले यसलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनहिरुले पश्चिमी देशहरुले सहयोग गर्नुपर्ने बताएका छन् ।

किभका जनताहरुले मेट्रो स्टेशन र बेसमेन्टमा रात बिताइरहेका छन् । सरकारले राजधानीको सुरक्षाको लागि अतिरिक्त सेना पठाइएको बताएको छ । युक्रेनका हजारौं जनता युद्ध र रुसी सेनाबाट बच्नको लागि छिमेकी देशहरु पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाकिया गइरहेका छन् ।

नेटोले रुसविरुद्ध बलियो प्रतिरोध र सुरक्षा सुनिश्चित गर्नको लागि हरेक आवश्यक तैनाथी गरिने बताएको छ । नेटोका महासचिव जेम्स स्टोलटेनबर्गले ब्रसेल्समा एक पत्रकार सम्मेलनलाई सम्बोधित गर्दै रुसले युरोपमा शान्ति भंग गरेको आरोप लगाएका छन् ।

उनले नेटो सहयोगीहरुले आफ्नो रक्षाको योजना सुरु गरेको बताएका छन् । उनले भने ‘योजना अन्तर्गत हामी नेटो सेनालाई जमिन, समुद्र र वायु क्षेत्रमा तैनाथ गर्दैछौं । हाम्रो स्थितिलाई बलियो बनाउन र कुनै पनि आकस्मिक घटनाको जवाफ दिनको लागि अमेरिका, क्यानडा र युरोपेली सहयोगीहरुले गठबन्धनको पूर्वी हिस्सामा हजारौं सैनिक पनि तैनाथ गरेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *