युक्रेनी राष्ट्रपतिद्वारा देश छोड्न ‘अस्वीकार’, राजधानी किएभमा रुसी क्षेप्यास्त्र प्रहार

डिसी नेपाल
१५ फागुन २०७८ ६:४१
308
Shares

बीबीसी। रूसमा राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरिरहेको छ।

रुसी फौज किएभनजिकै आइपुग्दा युक्रेनले प्रतिरोध गरिरहेको जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

“लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन,” अमेरिकी समाचार संस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ।

द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ। रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता रहेका उनले निरन्तर लडिरहने प्रतिबद्धता जनाएका छन्। एउटा सम्बोधनमा उनले भनेका छन्, “जब तिमीहरूले हामीलाई आक्रमण गर्छौँ हामी त्यसको सामना गर्छौँ, भाग्दैनौँ”

उनले आफैँले खिचेको एउटा भिडिओ पनि पोस्ट गरेका छन् जसमा उनी र उनका सहयोगीहरू किएभमा देखिन्छन्। उनले भनेका छन्, “हामी सबै यहाँ छौँ र यो यस्तै भइरहन्छ।”  यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन्।

भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह गरेका छन्।“हामीले योजना असफल बनाएका छौँ,” जेलेन्स्कीले भने।

युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो नियन्त्रणमै राखेको उनले बताएका छन्। आफ्नो देशसँग युरोपेली सङ्घको सदस्य हुने अधिकार समेत रहेको उनको भनाइ छ।

अझैसम्म युरोपेली सङ्घको सदस्य नरहेको युक्रेनको संविधानमा युरोपेली समूहमा सहभागिता जनाउने आकाङ्क्षा व्यक्त गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *