सत्ता गठबन्धन चुनावकै कारण भत्किने खतरा

डिसी नेपाल
२६ फागुन २०७८ ७:२३
92
Shares

काठमाडौं। सरकारले स्थानीय तह निर्वाचनको मिति तोकिसकेको छ भने मंसिरमा प्रादेशिक र संघीय चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता छ।स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले चुनावी अभियानको घोषणा गरेको छ भने सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ।

तर सत्ता सहयात्री दल माओवादी केन्द्र र एकीकृत समाजवादी भने चुनावी अभियान भन्दा पनि वर्तमान गठबन्धनलाई तीनै तहको चुनावसम्म लैजाने भन्दै गठबन्धनमा जोड दिँदै आएका छन्। जुन विषयमा कांग्रेसभित्र एकमत छैन।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई दिएर सत्ता गठबन्धनभित्र अविश्वासको वातावरण सृजना भएको थियो। चुनावी तालमेललाई लिएर सत्ताधारी दलबीच भिन्नाभिन्नै अभिव्यक्ति आउन थालेपछि गठबन्धन भबिस्य नै अन्योल हुन थालेको छ।

गठबन्धनको पक्षम विशेष गरी एकीकृत समाजवादी रहेको छ। पार्टी विभाजन गरेर नयाँ बनाउँदा उसको देशव्यापी संगठन निर्माण भएको छैन भने गठबन्धन नगर्ने हो भने आगामी स्थानीय तह निर्वातनमा आफूसँग भएका कार्यकर्तापनि एमालेतर्फ जाने भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावमा गठबन्धन हुनुपर्ने बताउँदै आएका छन्।

उनले बुधबार पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय नेताहरुलाई स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसकेको सुनाएका थिए। सोही समयमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पार्टी कार्यालमा स्थानीय तह निर्वाचन लक्षित एक महिने अभियानबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन गरेर जानेबारे निर्णय भइनसकेको बताएका थिए।

नेपालको भनाइ थियो, ‘हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरुसँग पनि कुराकानी गरिरहेका छौं। हाम्रो सहमति रहेको छ, निर्वाचनमा पनि हामी मिलेर जान्छौं। सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसका निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैलाई हुनुपर्‍यो। ठीक मूल्यांकन गर्नु पर्‍यो। अरु पार्टीहरुको शक्ति कति छन, त्यसको पनि जानकारी हुनुपर्‍यो।’

कांग्रेसले भने आगामी चुनावमा गठबन्धन गर्नेबारे कुनै सहमति नभएको जनाएको छ। गठबन्धन गर्नेबारे अहिले कुनै सहमति नभएको भन्दै कांग्रेसले पार्टीको ग्राउन्ड बुझेपछि मात्रै गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गरेर निर्णयमा पुग्ने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दाबी गरे।

‘हाम्रो गठबन्धन सरकार छ, हाम्रो सभापति शेरबहादुर देउवा त्यो सरकारको प्रधानमन्त्री हुनुहुन्छ, अहिले हामी गठबन्धनमा भएका दलहरू पहिलो चरणमा आफ्ना पार्टीका एजेन्डा लिएर जनताको बीचमा जाँदैछौँ,’ खड्काले भने, ‘जनताको चाहना के छ? पार्टीको ग्राउन्ड कस्तो छ? त्यो बुझेपछि मात्रै यसबारे निर्णयमा पुग्छौँ।’

गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे कांग्रेसमा फरक-फरक मत छ। सभापति एवम् प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूसँग चुनावी तालमेल हुने संकेत गरिसकेका छन्। तर, नेता शेखर कोइरालाले भने सरकार सञ्चालनमा गठबन्धन गरे पनि चुनावी गठबन्धन गर्नु उपयुक्त नुहने भन्दै आएका छन्।

कांग्रेसमा सभापति शेरबहादुर देउवापक्ष गठबन्धन कायम गरेर अघि बढ्नु पर्ने पक्षमा छ। त्यसैले देउवाले बुधबार बैठकमा समेत गठबन्धनका दलहरुको चित्त दुख्ने गरि अभिव्यक्ति नदिन निर्देशन नै दिएका थिए। तर, नेता शेखर कोइराला पक्ष भने गठबन्धन गरेर अघि जान नहुने पक्षमा छन्। महामन्त्री गगन थापाले चुनावमा गठबन्धन गर्न नहुने विषयलाई जोड दिइरहेका छन्।

नेताहरुबीच गठबन्धनका बारेमा फरक फरक धारणा आइरहँदा गठबन्धनको गाँठो खुस्कन लागेको त होइन भन्ने आशंका उब्जिएको छ। कांग्रेसले तत्कालीन नेकपाको सरकारविरुद्ध र गठबन्धनका नेताहरुलाई आक्रोश पोखिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई होच्याउने काम भइरहेको भन्दै २३ सिट भएकालाई सिंहासनमा पुर्‍याएकाले तल झार्न सक्ने चेतावनी दिएका छन्। नेताहरुबीचको आरोप प्रत्यारोपले गठबन्धनबीचको सम्बन्धनमा समस्या बढ्दै जान सक्ने सम्भावना रहन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.