कांग्रेस सिन्धुपाल्चाेक सभापतिकाे निर्वाचन : प्रेमध्वज लामाकाे समर्थन वंशलाल तामाङलाई

डिसी नेपाल
२९ फागुन २०७८ ११:५८
260
Shares

सिन्धुपाल्चाेक। कांग्रेस सिन्धुपाल्चाेक सभापतिका लागि दाेस्राे चरणकाे मतदान सुरु भएकाे छ। चाैतारामा सुरु भएकाे मतदानमा जंगबहादुर तामाङ र वंशलाल तामाङबीच प्रतिस्पर्धा भइरहेकाे छ। शनिबार पहिलाे चरणकाे मतदानमा तीनजना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलाे र दाेस्राे धेरै मत ल्याउनेबीच प्रतिस्पर्धा भइरहेकाे हाे।

दाेस्राे चरणबाट बाहिरिएका डा. प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गर्ने भएका छन्। आइतबार बिहान पत्रकार सम्मेलन गरेर लामाले आफ्नाे समर्थन वंशलाललाई रहेकाे प्रस्ट पारेका छन्।

‘राजनीतिक निष्ठा, वैचारिक इमानदारिता र पार्टीप्रतिको प्रतिवद्धतामा यहाँहरूले जाहेर गर्नुभएको मतको मैले उच्च सम्मानको रूपमा लिएको छु,’ उनले भने, ‘लाेकतान्त्रिक प्रणालीअन्तर्गत हामीले जुन अभ्यास गर्‍याैं, त्यसले हामीलाई उच्च राजनीतिक संस्कारमा प्रवेश गराएको छ।’

नेपाली कांग्रेस सिन्धुपाल्चोकलाई एकीकृत, वैचारिक र सुदृढ बाउने चुनौतीको सामना गर्न आफूले मोहनबहादुर बस्नेतको दादागिरी प्रवृत्तिको विरोध गर्दै वंशलाला तामाङलाई सहयोग गर्ने उनले बताए।

लामाले पार्टीमा विभेद, निषेध र गैरराजनीतिक संस्कृतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बताएका छन्। पार्टीभित्रको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्दै सामूहिक नेतृत्व विकास गर्न एकतावद्ध भएर लाग्न सबै प्रतिनिधिलाई उनले अनुरोधसमेत गरेका छन्।

शनिबार भएको निर्वाचनमा संस्थापन पक्षका जंगबहादुरले सात सय पाँच मत प्राप्त गरे। कोइराला पक्षका वंशलाल तामाङले ६ सय २९ र संस्थापन पक्षकै डा.प्रेमध्वज लामाले चार सय ९३ मत ल्याए । ४० मत बदर भएको थियाे।

सभापतिमा उठ्नकै लागि लामाले त्रिविकाे उपप्रध्यापकबाट राजीनामा दिएका थिए। तर अन्तिम समयमा माेहनबहादुर बस्नेतले लामालाई आधिकारिक उम्मेदवारकाे टिकट नदिई जंगबहादुरलाई दिएका थिए। यदि प्रेमध्वज लामालाई मत दिने सबैले वंशलाललाई मत हाले सिन्धुपाल्चाेकमा संस्थापन पक्ष पराजित हुने सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.