चितवनका टोलटोलमा राजनीतिक गतिविधि
चितवन। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै दलीय गतिविधि टोलटोलसम्म पुर्याइएको छ। जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडाहुँदै टोलसम्म राजनीतिक दलका समिति बन्ने काम धमाधम भइरहेका छन्।
जिल्लाका प्रमुख दलहरुले टोलमा भेला गरेर समिति बनाउने र निर्वाचन केन्द्रित अभियान सुरु गरेका छन्। नेकपा (एमाले) चितवनले टोलटोलमा एमाले, घरघरमा एमाले, जनताको सुख र दुःखमा नेकपा एमाले भन्ने अभियान सञ्चालन गरिरहेको छ।
फागुन २१ गतेबाट अभियान सुरु गरिएको हो। जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार टोल समितिमात्र २०० भन्दा बढी गठन भइसकेका छन्। वडा तहमा बन्न बाँकी जनसङ्गठनका समिति बन्ने काम पनि भइरहेका छन् । यससँगै घरदैलो अभियान जारी राखिएको उहाँले जानकारी दिए।
वडा तहलाई सम्भावित उम्मेदवारको नामावली सङ्कलन गर्न निर्देशन पनि दिइएको छ। जिल्लामा एमालेका २५ हजार सङ्गठित सदस्य रहेकामा नवीकरण २० हजारको भइसकेको न्यौपानेले जानकारी दिए। उनले भने, “हामी गाउँ तहमा केन्द्रित भएर अभियान गरिरहेका छौं।”
नेपाली कांग्रेसको नवनिर्वाचित समितिले पनि अभियान सुरु गरेको छ । घर–घर जाऔँ, कांग्रेस जिताऔँ भन्ने अभियान सुरु गरिएको हो। जिल्ला सचिव ध्रुवराज पोख्रेलका अनुसार जिल्ला तह र क्षेत्रीय तहमा कार्यक्रम गरिसकिएको छ। जिल्ला समितिको आज बस्ने बैठकले ९८ वडामा दुई जनाका दरले जिल्लास्तरका प्रतिनिधि खटाउने तयारी गरिएको छ।
ती प्रतिनिधिको उपस्थितिमा टोल–टोलसम्म अभियान गरिने छ। धेरै टोल समिति बनिसकेको भन्दै उहाँले बाँकी रहेका समिति बन्ने बताए। पार्टीसहित भ्रातृ संस्थाका समितिसमेत बनाएर निर्वाचन केन्द्रित भएको उनले जानकारी दिए। उनले भने, “अबको निर्वाचनमा स्थानीय तहमा कांग्रेसको वर्चश्व हुनेगरी हामी अभियानमा लागेका छौँ।” नेपाली कांग्रेस चितवनका क्रियाशील सदस्य २८ हजार रहेका छन्।
नेकपा (माओवादी केन्द्र)ले चुनाव केन्द्रित अभियान थालेको छ। टोल तहसम्म एकाध ठाउँबाहेक अन्यत्र समिति बनाउने काम भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले बताए। जनवर्गीय सङ्गठनको तल्लो तहमा समिति बनाउने काम भइरहेको उनको भनाइ छ। मोर्चा गठन, भेला सम्मेलनमा आफू केन्द्रित भएको परियारले बताए।
यसै हप्ता जिल्ला समितिको बैठक बसेर टोल–टोलमा अभियान, घर–घरमा माओवादी भन्ने अभियानका साथ पार्टी टोलटोलमा पुग्ने काम थालिएको उनले जानकारी दिए। जिल्लामा माओवादी केन्द्रका २५ हजार सङ्गठीत सदस्य रहेको उनको भनाइ छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ। जिल्लाका वरिष्ठ उपाध्यक्ष चेतनाथ वाग्लेले पार्टी प्रवेशसँगै वडा कार्यालय खोल्ने काम भइरहेको जानकारी दिए।
समिति निर्माण गर्ने, पार्टी प्रवेश गराउनेसँगै कार्यालय स्थापना गरेर पार्टीलाई निर्वाचन केन्द्रित बनाउने काम भइरहेको उनको भनाइ छ। जिल्लामा राप्रपाका नौ हजार सक्रिय सदस्य रहेको बाग्लेले जानकारी दिए।
गएको स्थानीय निर्वाचनमा जिल्लाका ९८ वडामध्ये (नेकपा एमाले)ले ५७ वडाध्यक्ष जितेको थियो। नेपाली कांग्रेसले ३५ र माओवादी केन्द्रले ६ वडाध्यक्ष जितेको थियो। रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको थियो।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको थियो। माडी नगरपालिकामा माओवादी केन्द्रले प्रमुख र नेकपा एमालेले उपप्रमुख विजयी हासिल गरेको थियो।
इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुवै नेपाली कांग्रेसले जितेको थियो। जिल्लामा तत्कालीन समयमा तीन लाख १३ हजार तीन मतदाता रहेका थिए । अहिले यो सङ्ख्या बढेर तीन लाख ९९ हजार ८७१ पुगेको छ।







डिसी नेपाल








Facebook Comment