राप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने

डिसी नेपाल
७ चैत २०७८ ७:४९
108
Shares

काठमाडाैं । राजनीतिक दल स्थानीय तहको चुनावमा केन्द्रित छन्। ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि शीर्ष नेताहरु देश दाैडाहामा छन्।

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि चुनावी दाैडमा छ । राप्रपाले गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेकाे थियाे।

राप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ। पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।

आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन भएकाे छ। काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्ष सहसंयोजक रहेकाे समितिमा केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव छन्।

समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्ष, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्ष पनि छन्।

आमसभालाई प्रभावकारी बनाउन उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले बताए। उपाध्यक्षहरु ध्रुबबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको थियाे।

पछिल्लो एक महिनामा लिङ्देनको देशव्यापी दौडाहा चलिरहेको छ, उनले फागुनबाट सुरु गरेको दौडाहा सिन्धुलीसम्म पुग्दा ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन्। लिङ्देनले आइतबार मात्रै भक्तपुर, काठमाडौं र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीनवटा सभालाई सम्बोधन गरेर सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *