भ्रातृ संस्थामा गरेकाे नियुक्तिप्रति असहमति जनाउँदै कोइराला समूहका विद्यार्थीकाे खबरदारी भेला
फाइल फाेटाे
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहका विद्यार्थीहरुले आज पार्टी नेतृत्वको निर्णय विरुद्ध खबरदारी भेला गर्ने भएका छन्। काठमाडौंको अनुपम फूडल्याण्ड बत्तिस पुतलीमा सभापति शेरबहादुरको निर्णयप्रति भेला गर्ने भएको हो।
गत बुधवार सभापति देउवाले नेतृत्व विहीन कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा दुजाङ शेपा र नेपाल तरुण दलको अध्यक्षमा विद्धान गुरुङलाई मनोनयन गरेसंगै पार्टी विवाद सतहमा आएको हो।
‘नेपाली कांग्रेसको भ्रातृ संस्थाहरुमा गरिएको एकाधिकार पूर्ण निर्णय र अबको बाटो’ भन्ने शिर्षकमा आज दिउँसो १ बजेबाट छलफल हुने असन्तुष्ट विद्यार्थी नेताहरुले जनाएको छ।
कोइराला समूहका विद्यार्थीहरुले पार्टीमा कुनैपनि छलफल नगरि सभापति देउवाले एकलौटी ढंगबाट मनोनयन गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन्।
सभापतिले मनोनय गरेको भोलिपल्टै पार्टी कार्यालय सानेपामा पनि नेविसंघका असन्तुष्ट विद्यार्थीहरुले सभापति देउवाको उक्त निर्णय विरुद्ध नाराबाजी गरेका थिए।
सो भेलाको नेतृत्व गरिरहेका नेविसंघका पूर्व अध्यक्ष केशव सिंहका अनुसार पार्टीका सभापतिले कसैसंग परामर्श र छलफल नै नगरि निर्णय गरेका कारण विरोध स्वरुप कार्यक्रमको आयोजना गरिएको बताए।
‘लोकतान्त्रिक पार्टीमा छलफल र परामर्श नगरि गरिएको निर्णयले पार्टीलाई हित गर्दैन।’ सिंहले भने ‘त्यसकारण पार्टी नेतृत्वले सबैलाई समेटेर लैजानुपर्छ भन्ने हाम्रो मान्यता हो। र यो भेलाको सन्देश पनि नेतृत्वले सबै पक्षलाई समावेश गरेर नेविसंघको पूर्ण समिति ल्याउनुपर्छ भन्ने हो।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment