१७ हजारभन्दा बढी स्थायी शिक्षकका लागि परीक्षा सुरु

डिसी नेपाल
१५ चैत २०७८ १२:०९
120
Shares

काठमाडौं। स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ। १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो।

आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ। त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चित प्रदेशको कैलालीमा परीक्षा केन्द्र तोकिएको छ। पहिलो चरणको लिखित परीक्षामा पास भएका उम्मेदवारलाई दोस्रो चरणमा विषयगत परीक्षामा सहभागी हुने मौका मिल्नेछ।

१७ चैतमा निम्न माध्यमिक तहको र १९ गते प्राथमिक तह र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने आयोगले जनाएको छ।

आयोगले प्राथमिक तहतर्फ १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गरेको थियो । निमावितर्फ दुई हजार ५९८ र मावितर्फ एक हजार ५४७ स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गरेको थियो।

तीनै तहमा १७ हजार २३८ स्थायी शिक्षकका लागि आयोगले गत मंसिर र पुसमा विज्ञापन खोलेको थियो। पहिलो चरणको परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेका उम्मेदवार पास हुनेछन्। उनीहरूले दोस्रो चरणको वस्तुगततर्फको परीक्षामा सहभागी हुने मौका पाउनेछन् । आयोगले झन्डै पाँच वर्षपछि स्थायी शिक्षकका लागि विज्ञापन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *