चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्छः प्रधानमन्त्री देउवा

डिसी नेपाल
१७ चैत २०७८ १२:३०
60
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन्। आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन्।

‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हो,’ देउवाले भने, ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं।’ आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने बताए। चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए ।

सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह गरे। देउवाले मिडियामा मिथ्या र भ्रामक समाचारहरुप्रति गम्भीर हुनुपर्ने बताए। उनले मिडियाले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव समारोहमा शुभकामना दिँदै उनले गठबन्धन आवश्यकत्ताले जन्मिएको भन्दै यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारे । उनले भने,‘गठबन्धन एउटा सन्भर्दमा जन्मिएको हो । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाएका हौं । कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ। अब कुनै द्धिविधा छैन्। निर्वाचन शान्तिपूर्ण हुन्छ। निश्पक्ष हुन्छ ।’

प्रचण्डले मुलुकको संकटमोचनको लागि आफ्नो पार्टीले जहिलेपनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले भने,‘देशमा आउने सबै संकटमा मोचनको भूमिका खेल्ने काम माओवादी केन्द्रले गरेको छ । तर सबैले माओवादीलाई त्यो भूमिका खेलेको रुपमा स्विकार नगरेको स्थिति छ । संविधान, गणतन्तत्र, समावेशिताको रक्षा गर्ने चाहीँ माओवादी केन्द्र नै हो भन्ने जनताको बुझाई छ । यो मेरो अहंकार होइन ।’

दाहालले क्लब २४ वर्ष पुरा गरेको अवसरमा बधाई तथा सफलताको शुभकामना दिए । उनले भने,‘नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया, शान्ति प्रत्रmिाय, संविधान निर्माणको प्रक्रिया, संविधान कार्यान्वयनको प्रक्रियामा क्लबले विशिष्ट पहिचान बनाउन सकेको छ, म यसको लागि बधाई भन्न चाहन्छु । धन्यवाद भन्न चाहुन्छ । क्लबले आफ्नो मौलिक पहिचान बनाएको छ। ’

उनले क्लब र यसको नेतृत्वकर्ता ऋषि धमलाको प्रस्तुतिको विशिष्टताले पनि यसले आफ्नो पहिचान बनाउन सकेके हो भन्ने धारणा राखे । उनले भने,‘संघीय लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण क्षेत्र भनेको प्रेसको क्षेत्र हो । प्रेसको जसरी विकास भएको छ, जुन गतिमा विकास भएको छ, स्वतन्त्रताको जुन लेभलमा उपभोग गरिएको छ, यो उत्साहजनक छ। संविधानमा पनि अंकुश लगाईएको छैन ।’

युद्धबाट शान्तिमा आउने प्रक्रियाको एउटा नेतृत्वको हैसियतले पनि आफूले जनयुद्धको कालमा पनि नेपाली प्रेसले आग्रह र पूर्वाग्रह नराखेको दाहालको भनाई थियो । उनले भने,‘अहिले अरु थुप्रै समस्या छन् । प्रेस चाहीँ व्यवस्थित् हुँदै गएको छ। प्रेसले आफ्नो दायित्व पूरा गरेकै देखिन्छ । शान्तिलाई प्रवद्र्धन गर्ने कुरामा, आर्थिक दिशामा लैजाने कुरामा प्रेसको महत्वपूर्ण भूमिका छ । नेपालको समृद्धिको यात्रामा प्रेसको भूमिका राम्रो छ । आगामी दिनमा अझै सशक्त भूमिका खेलोस ।’

उनले देशमा ठूला–ठूला परिवर्तन भएपनि जनताको जीवनस्तरमा कतिको परिवर्तन भयो ? भन्ने कुरा महत्वपूर्ण रहेको सुनाए । उनले भने,‘सिंहदरबारको अधिकार गाउँमा पुगेको भएपनि जनताले यसको अनुभुति गर्न पाए कि पाएनन् भन्ने कुरा हो । आर्थिक तरलताको अवस्था छ, अर्थतन्त्र अहिले गम्भीर मोडमा छ। यसबारेमा हामीले गम्भीर चर्चा गर्यौं । यो विषयमा प्रधानमन्त्रीलाई मैले बृहत्तर छलफल गर्न आवश्यक छ भनेर भनेको छु । अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्नुपर्छ भनेका छौं । अर्थतन्त्रलाई सम्हालेर लैजानेतर्फ हाम्रो प्रयास जारी छ।’

उनले श्रीलंकाजस्तो स्थितिमा नेपाल नरहेको पनि जिकिर गरे । उनले भने,‘श्रीलंकाजस्तो डरलाग्दो स्थिति भयो भन्ने त होईन, भोलि अप्ठ्यारो स्थिति आउनसक्छ । अहिले नै समाधानको लागि पहल सुरु भैसकेको छ । उपाय निकाल्छौं ।’

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलले उठाउनुपर्ने मुद्दा र विषय नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले बोक्ने गरेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘ अहिले हामी अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको छौं । लोकतन्त्र र अर्थतन्त्रले राम्रोसँग खुट्टा टेक्न सकेको छैन् । मिडियाले ठूलो भूमिका खेलेको छ । राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलतः नेपालमा मिडियाले उठाउने गरेको पाउँछु । भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौं ।’

उनले क्लबको स्थापना कालमा आफूहरु भूमिगत जीवनमा रहेको स्मरण गराए । उनले भने,‘क्लबको स्थापनाकालमा हामी भूमिगत थियौं, तर ०५९ सालमा शान्ति वार्ता थियो । ऋषि धमलाले नाटकीय ढंगले कार्यक्रम सञ्चालन गर्नुभएको थियो, त्यसलेशान्ति वार्तालाई उचाईमा पुर्याउन भूमिका खेलेको थियो । क्लबको सफलताको कामना गर्न चाहन्छु ।’

उनले राष्ट्रियताको प्रश्न अहम नै रहने सुनाए । उनले भने,‘पछिल्लो समय भूराजनीति बदलिँदो छ। भरत, चीन र अमेरिकाको सम्बन्धले हाम्रो आन्तरिक सम्बन्धलाई नै असर पार्ने देखिन्छ । नेपालमा राष्ट्रिय सहमति बनाउनैपर्छ । महाशक्तिहरुको बीचमा रहेको देशले राष्ट्रिय सहमति कायम गर्नुपर्छ । मिडिया जगतले प्रधानता दिओस । युक्रेनको घट्ना हामीलाई ठूलो पाठ हुनसक्छ। विश्व महाक्तिहरुको चासो बढ्दो छ । नेपालले सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्छ । यही शताब्दीमा विश्वकै एक अग्रणी केन्द्र बन्नसक्छ। त्यसकोल ागि राष्टिय समझदारी बनाउनैपर्छ ।

आफूहरुले लोकतन्त्रलाई अझै ठीक ढंगले पूर्णता दिन नसकेको स्विकारे । उनले भने,‘दुई तिहाई बहुमतले किन पूरा कार्यकाल पार गर्न सकेन ? लोकतन्त्रका बाँकी प्रश्न हामीले हल गर्नैपर्छ । खिचडी प्रकारको संसदीय व्यवस्थालाई सच्याउनुपर्छ, अब प्रत्यक्ष शासन प्रणालीमा जानैपर्छ। आर्थिक मुद्दा ठूलो कुरा हो, अब श्रम निर्यात र सामान आयात गर्ने अर्थतन्त्र होइन ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.