तेश्रो विश्वयुद्ध

डिसी नेपाल
२० चैत २०७८ १४:४२

राजनीतिक ध्रुवीयताको उचाइले गर्दा संसारमा सयौं बर्षदेखि ठूला–ठूला नरसंहारकारी बम बारुद र हतियारहरु बनाउने काममा संसारका अति विकसित देशहरु अमेरिका, बेलायत, रुस, जर्मनी, इटली, फ्रान्स, इरान, उत्तर कोरिया, चीन, भारत र पाकिस्तान जस्ता राष्ट्रहरुले खरबौं डलर खर्च गरि रहेका छन् ।

हतियारको होडबाजी विश्वभर अत्याधिक मात्रामा बढिरहेको देख्दा कुन चाहिँ शान्तिप्रिय नागरिकले यो विश्वमा भविष्यमा तेस्रो विश्वयुद्धको बिस्फोट हुदैन भनेर भन्न सक्लान् ? विश्वयुद्ध हुन्छ तर कहिले हुन्छ त्यो चाहिँ कसैले पनि भन्न सक्तैनन् ?

आजभन्दा १०० बर्ष अगाडि विश्वमा घटेका प्रथम र द्वितीय विश्व युद्धले लाखौँ करोडौं मानिसहरुको हत्या भयो । हजारौं अचम्मलाग्दा सहरहरुका संरचनाहरु ध्वस्त भए । युद्धपश्चात ध्वस्त भएका हजारौ संरचनाहरुलाई पुनर्निर्माण गरी अहिलेको अबस्थामा ल्याइएकोमा त्यसमा कति मानिसहरुको कलाकारिता, ज्ञान र बुद्धि लागेको होला त्यसको अनुमानसम्म पनि गर्न हामी जस्ता मझौला खालका व्यक्तिहरुले सक्तैनौ ।

प्रथम विश्वयुद्ध पश्चात अब उप्रान्त विश्वमा फेरि विश्वयुद्ध नहोस र विश्वमा सर्वत्र सहयोग, सामन्जस्यता रही सधैं शान्ति रहोस भन्ने उद्देश्य लिई सन् १९१९ मा भर्सेलिजको सन्धि गरियो । तत्कालीन अमेरिकाका रास्ट्रपति उड्रो विल्सनको नेतृत्वमा पहिले आफू नरही फ्रान्स र ग्रेट ब्रिटेनले निगरानी गर्ने गरी लिग अफ नेसनको स्थापना भयो ।

देश देशमा आन्तरिक कलह बढेकै थियो । अमेरिकाको अनुपस्थिति हुँदा जर्मनी सन् १९२८ यो संगठनमा सम्मिलित भइ नाजीको उदय पश्चात सन् १९३३ मा छोडी दियो । त्यस्तै सोभियत संघ सन् १९३३ मा सम्मिलित भइ सन् १९३९ मा छोडी दियो । जापानले पनि सन् १९३३ मा र इटलीले सन् १९३६ मा छोडि दिए किनकि यी सबै देश आ–आफ्नो सीमा बढाउन साम्राज्यवादी विचारमा लागेका थिए ।

त्यसै बेला विश्वमा सन् १९२९ मा आर्थिक मन्दी आयो । त्यस बेला लिग अफ नेसनका ब्रिटेन र फ्रान्स आफ्नो सैनिक अरु देशमा पठाउन चाहदैन थिए । उनिहरुले वास्ता नगरेकाले फेरि युद्ध चर्किदै आयो र फलस्वरूप सन् १९३९ मा फेरि द्वितीय विश्व युद्ध भयो । यो युद्ध झन्डै सन् १९४५ सम्म सात बर्षसम्म चल्यो । त्यसपछि संसारमा अमेरिका र सोभियत संघको उदय भयो । यी थिए दुई फरक विचारधाराका देशहरु ।

त्यसपछि पुनः सहयोग र सामन्जस्यको लागि सन् १९४५ अक्टोबर २४ मा न्यूयोर्कमा सन् १९४२ को वाशिंटन सम्म्मेलन पश्चात संयुक्त राष्ट्र संघको स्थापना भयो । यसमा रुसका तत्कालीन राष्ट्रपति स्टालिन, अमेरिकाका रास्ट्रपति रूज्वेल्ट र ब्रिटेनका प्रधानमन्त्री विन्स्टन चर्चिल मूल अगुवा थिए । यिनीहरुले युद्ध लडिरहेकालाई शान्तिको संदेश पठाए र यो संस्थाको प्रारुप र उदेश्यहरु उपर सहमति पठाउन अनुरोध गरे । सन् १९४५ मा सान फ्रान्सिस्को सम्मेलनबाट ५० देशहरुलाई निमन्त्रणा गरी युएनओको स्थापना भयो ।

यो संस्थाको स्थापना भएतापनि शक्ति राष्ट्रहरुको टक्करले गर्दा कोरिया टुक्रिइ साउथ कोरिया र नर्थ कोरियामा विभाजन भई साउथ कोरिया अमेरिकाको गणतन्त्र प्रणालीमा गयो भने नर्थ कोरिया साम्यवादको तानाशाही प्रणालीमा रहन गयो । यसमा अमेरिकाको प्रमुख हात थियो । यो दुई धु्रवीय राजनीतिको अहंकार, विचारधारा र कलहको युद्धले आज संसारमा युद्ध, कलह र वैमनस्यता बढेर गइरहेको छ ।

नयाँ नयाँ रणनीति र विस्तारबादी चिन्तन बढाउने फेरि अमेरिका नै देखिन्छ । स्वतन्त्रताको नाममा अरुको देश भित्र छिरी अकुत डलर ओछ्याई, प्रलोभनमा पारी युद्ध र कलह जस्ता कुराहरु भड्काउने, हातहतियारको ब्यापार गर्ने आदि जस्ता काम गरेकै देखिन्छ ।

इराकमा अमेरिका पसी सद्दाम हुसेनको हत्या किन भयो ? बिन लादेनलाई पाकिस्तानको एबटाबादमा गइ किन हत्या गरियो ? अफगानिस्तानमा भित्र पसी कलह फैलाई करिब २५०० करोड अमेरिकन डलर खर्च गरी हजारौ मानिसहरुको हत्या गराइ आखिर किन फर्कियो ? त्यस्तै सन् १९४५ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा किन ‘लिटलब्वाइ’ र ‘फ्याटम्यान’ नामक दुइ शक्तिशाली एटम बम गिरायो ? यो अमेरिकाका राष्ट्रपति ह्यारी त्रुमनको पालामा खसालिएको थियो ।

यसरी आफूले गर्दा कसैको पनि वास्ता नगरी बम खसाल्ने, राष्ट्रपतिलाई मार्ने, बामपन्थी राष्ट्रहरुमाथि जहिले पनि शंका गरी दबाइरहने र गरिब मुलुकहरुलाई अनेक प्रावधानहरू राखी ऋण प्रदान गर्ने र नेपालमै पनि चीन विरोधी गतिविधि बढाउन खम्पा काण्ड गराउने र नेपालबाट चीनको गतिविधि हेर्न बराबर हरतरहबाट दुरबिन लगाइरहने खालका काम नभएको पनि होइन ।

अहिले युक्रेनको युद्धमा अमेरिका मुछिनु पर्ने कुरै थिएन । नेटोको फौज र हतियारको शक्ति देखाई सुरुमा युक्रेनलाई उचालेकै हो । तर जब रुसले युक्रेनमाथि धावा बोल्यो उसलाई सहयोग गर्ने भनी युद्ध उक्साई उसलाई सहयोग नगरी रुसमाथि किन खनिँदै गएको छ ? युद्ध शान्त पार्नपट्टि नलागी रुसका पुटिनलाई ‘तानाशाही र युद्ध अपराधी’ को संज्ञा दिइ झन् युद्धलाई चर्काउने काम भएको छ ।

वास्तवमा रुससँग लड्न नेटो डराएको जस्तो देखिन्छ । फेरि यसमा संयुक्त राष्ट्रसंघ पनि आवश्यक निर्णय लिन अल्मलिएको जस्तो देखिन्छ । यो स्थितिले गर्दा युक्रेनी राष्ट्रपतिले पनि अमेरिका लगायत नेटो राष्ट्रहरुलाई पत्याउन छोडिसकेको जस्तो उनको बोलीबाट भान भएको छ ।

यो हेर्दा विश्वका शक्तिशाली देशहरुको टकराव र अमेरिका र युरोपीय देशहरुको अहंकारले विश्वमा तेस्रो बिश्व युद्ध निम्त्याइरहेको भान हुन्छ । आजको रसिया युक्रेनको चलिरहेको आन्तरिक युद्ध र त्यसमा अमेरिका सहितका नेटो सदस्य रास्ट्रहरुले युक्रेनलाई सुटुक्क सुटुक्क हतियार वितरण गरी युद्धलाई विस्तारै चर्काउन पट्टि लागेको देख्दा र सुन्दा मन विचलित हुन्छ र झन्डै तृतीय बिश्व युद्धको आभास हुन्छ । यसमा शान्तिप्रेमी हरेक नागरिकले यो कल्पना पनि गर्न सक्तैनन् ।

संसारमा आगोमात्र छैन, पानी पनि छ भने त्यो पानीले यो जलिरहेको आगोलाई निभाउँदैन होला त ? अवश्य निभाउँछ । स्वतन्त्रताको नाममा लगभग एक करोड युक्रेनी जनताहरु आफ्नो ज्यान बचाउन सिमानापारिका देशहरुमा शरण लिन पुगेका छन् भने हजारौं सैनिकहरुको हत्या भैसकेको छ र हजारौं रसियन सैनिकको घेराबन्दीमा परेका छन् ।

विद्यार्थीहरु पढ्न छोडेर हतियार बोकी हिँडेका छन् भने यो केको स्वतन्त्रता भयो र ? स्वतन्त्रताको नाममा आफ्नै घर जलाएर आफुले पनि मृत्युको मुखमा धकेल्दै लैजाने कामलाई एउटा देश प्रेमी र राष्ट्रप्रेमी नागरिकले पक्कै पनि कसैको उक्साहटमा गर्न नहुने काम हो । तर उन्माद घमण्ड र अहंकारले आज मानिसको सारा भविष्य अन्धकारतिर बढिरहेको छ ।

के यो युद्धलाई संसारका बुद्धिमान भनाउँदा नेताहरुले रोक्न सक्तैनन् र ? तर भविष्यको सुनहरी संसारको कल्पना गर्न नसक्ने नेताहरुको आ–आफ्नो एकल निर्णयले यो युद्धलाई लम्ब्याइरहेका छन् । आजको यो युद्ध वास्तवमा अमेरिका, नेटो र रसियाको नै हो ।

युक्रेन र युक्रेनी नागरिकको होइन । युक्रेनका बालबालिका, युवा र वृद्धहरु रोइरहेको देख्दा संसार के हो र ? जस्तो लाग्छ । यस्तोमा फेरि के अर्को विश्वयुद्ध थपिनु पर्दछ र? यो पुँजीवादी र साम्यवादको दुइ धु्रवीय राजनीतिको उग्रवादी विचारधाराले आज यो युद्ध अझ चर्किदै जालाजस्तो लाग्छ । शक्तिको धाक र धम्कीका भाषाहरु दुवैतिरबाट बाण शैलीमा आएको आएकै छ ।

एउटा आन्तरिक लडाइमा अमेरिका र नेटो किन घुसिरहेको छ यो नै सबैभन्दा प्रमुख विषय हो । युद्ध शान्त पार्ने हो चर्काउने होइन । मेरो इतिहास, परिस्थिति बाध्यतालाई नबुझी कसैले ममाथि बम बर्साउँछन् भने मैले एटम बम हानी ध्वस्त पार्नुको कुनै विकल्प छैन भनी रुसका राष्ट्रपतिले भनिसकेका छन् ।

यो नबुझी जो बाइडेन फेरि वार्सा सम्मेलनमा गई पुटिनलाई तानाशाही नामले पुकारी विश्वलाई अझ आक्रामक शैलीमा लान खोज्छन् । यो उनको वा अमेरिकी सरकारको ठूलो गल्ती हो । साँच्चै भन्ने हो भने पुटिनको रणनीतिक कुशलताले एटम बम फुटेको छैन । यो बम फुट्नासाथ तेस्रो विश्वयुद्ध त निश्चित नै हुन्छ ।

पुटिनलाई एक्लो पारी युद्ध गर्ने प्रयास अमेरिका र नेटोले गर्छ भने उसलाई साथ दिने दुनियामा अर्का शक्तिशाली देशहरु इरान, उत्तर कोरीया, क्युबा र चिन जस्ता शक्तिशाली राष्ट्रहरु पनि छन् । यो अमेरिकाले जानोस र बुझोस् । यस्ता उग्रपन्थी देशहरुको हातमा बम, बारुद र शक्तिशाली क्षेप्यास्त्र प्रशस्तै छन् ।

रिसको झोंकमा कहीं यी बम र बारुद पड्किन गयो भने संसार ध्वस्त हुनलाई कति बेर लाग्छ र ? अब हुनेवाला तेस्रो विश्व युद्ध संसार ध्वस्त पार्ने नै युद्ध हुनेछ । यो अत्यन्त घातक र नरसंहारकारी हुने हुँदा यसमा मूलतः अमेरिका र रसिया दुवै बिपरित विचारधारा बोकेका अत्यन्त शक्तिशाली देशहरु भएतापनि यो युद्ध अवश्य पनि गराउँदैनन् भन्ने लाग्छ । यो उनको अवचेतन मनले अवश्य पनि गर्न दिँदैन ।

आज तर्कको आधारमा केवल दुई विचारधाराको झगडाको भरमा घटिरहेको घटनाको आधारमा विद्वान मित्रहरुले तेस्रो विश्वयुद्ध हुने संकेत दिइरहेका छन । तर समाजलाई राम्रो सन्देश दिने हो भने यस्तो युद्ध कलह झैझगडाहरु छन् पहिलेदेखि तर विश्वयुद्ध त भएको छैन नि ।

संसारमा झगडालुहरु मात्र छैनन, विद्वानहरु पनि छन् । यो एउटा मानसिक त्रासदी मात्र हो । तेस्रो विश्वयुद्ध हुने कल्पना मात्र हो । बेकारको भबिष्यबाणी मात्र हो । सडकमा बसी पट्टु खेलाएर मान्छेको जन्म, बिबाह, विदेश भ्रमण, नोकरी र मृत्युको भाबिष्यबानी गर्ने पट्टु पालकको अन्दाज र तर्कजस्तो मात्र हो ।

आज सम्पूर्ण पश्चिमेली र अमेरिका मिलेपनि एक रुसलाई दबाउन सकेका छैनन् । किनकि पहिले त रुस नै शक्तिशाली छ । उसलाई साथदिने अर्का बिशाल शक्तिशाली देशहरु चीन, भारत, इरान, क्युबा, टर्की, उत्तर कोरिया र रुस आफै छ । यो सबै अमेरिका र पश्चिमा देशहरुलाई घामझैं छर्लंग छ । यो त अमेरिका लगायत नेटो देशहरुका राष्ट्रहरुले रसियालाई दवाब दिन र धावा बोल्न चालेको राजनैतिक षड्यन्त्र मात्र हो ।

यसरी पुँजीबादीहरुले साम्यबादीहरुलाई शक्तिहीन बनाउने हो भने विश्वमा साम्यबादी र समाजबादीहरु पनि कम वजनका छैनन् । यही वजनले गर्दा आज रुसका रास्ट्रपति भ्लादिमिर पुटिन संसारकै सबैभन्दा बलियो सिंहको रुपमा विश्व सामु उभिएका छन् । बास्तबमा भन्ने हो भने संसारमा न पुजीबादको अन्त हुन्छ, न त साम्यवादको । यो दुवै बिचारहरु अजर र अमर छन् । खाली व्यक्तित्वको मानसिक परिबर्तको अदल बदल मात्र हो ।

आज संसारमा केवल पुंजिबादी र साम्यवादी विचारधाराको संघर्ष नै कलह हो । दोस्रो प्राविधिक विकासको नै होडबाजी हो । यसैमा संसार अल्मलिएको छ । तसर्थ सबै शक्तिलाई एटमिक इनर्जीमा परिणत गरि यो पृथ्बीमा विश्व युद्ध निम्त्याउने होइन बरु चन्द्रमामा बस्ती बसाल्ने कोसिस सबै शक्तिशाली राष्ट्रहरुले गरुन् भन्ने आजको बैज्ञानिक प्रविधिको माग हो ।

यसरी हेर्दा अबको सुपर पावर पश्चिम हुँदै एसियामा हुने र सर्ब शक्तिशाली शक्ति पूर्वमा उदाउने कुरामा पनि शक्ति स्थानान्तरणको नियम अनुसार देखिएको कुरा पनि घाम झैं छर्लंग छ । कलह र सानातिना युद्ध भएपनि विश्व युद्ध हुदैन किनकि हिजोका शासकहरु आज छैनन् जसले आफ्नो सनकी दिमागको भरमा युद्ध मच्चाई करोडौं मानिसहरुको हत्या र करोडौं संरचनाहरु नष्ट गरे ।

यो इतिहासलाई आजका प्रत्येक शासकहरुले मनन गर्नै पर्दछ । शान्तिको बाटो हुँदा हुँदै पनि रिस र घमण्डको बाटो कस्ले किन र के कारणले रोज्ने ? रिस र घमण्ड भनेको तमोगुणको अबलम्बन गर्नु हो जसले सर्बनाशको बाटो अंकित गरेको हुन्छ ।

सबै भगवान शंकर, नारायण, राम, कृष्ण, बुद्ध, जिसस क्राइस्ट, मोहम्मद पैगम्बर, गुरु नानक, सन्त कबीर र चीनका लाओत्से जस्तो बन्ने कोशिस गरौँ । सत्यवादी बनौ । दया करुणा र सहयोगको भावनालाई आत्मसात गरौँ । यसबाट संसारमा तेस्रो विश्व युद्ध आउने सम्भावना नै रहदैन । तसर्थ आजको संसारको सबै भन्दा ठुलो परिबर्तनीय नारा ‘बसुधैब कुटुम्बकम’ नै हो । सदाचार, नैतिकता र सद्बिचारको परिबर्तन नै हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *