देउवा सरकारसँग किन भड्किँदै छन् बाबुराम?

डिसी नेपाल
२२ चैत २०७८ ७:४१
208
Shares

काठमाडौं। सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेपछि त्यसको असर सत्ता गठबन्धनमा सहभागी दलमा देखिन थालेको छ। विशेष गरी कांग्रेस बाहेकका दलले गठबन्धनप्रति कांग्रेस प्रतिवद्ध नभएको भन्दै कांग्रेसको निर्णयप्रति सशंकित बनेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारतको औपचारिक भ्रमण पूरा गरी आइबार स्वदेश फर्किएका छन्। अब प्रधानमन्त्री देउवाको व्यवहारको गठबन्धनको भविष्य निर्भर रहने राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन्।

यसैबीच वर्तमान गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई गठबन्धनप्रति असन्तुष्ट देखिएका छन्। गठबन्धनका आफ्नो दललाई बेवास्ता गरेको भन्दै डा. भट्टराई गठबन्धनप्रति असन्तुष्ट बनेका छन्।

पार्टी भित्र र गठबन्धनमा पनि आफूले भने अनुसार नभएपछि भट्टराइले सार्वजनिक रुपमा असन्तुष्टी जनाउन थालेका छन्। केही समय अगाडिसम्म पार्टीभित्रको असन्तुष्ट पक्षलाई साथमा दिएर अध्यक्ष उपेन्द्र यादवलाई कर्नरमा पार्दै आएका भट्टराईले केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याउन नसक्दा उपेन्द्र यादवसँग ‘सम्झौता’ गर्दै विवाद समाधान गरेका थिए। उनी यादवलाई अल्पमतमा पारेर पार्टी ‘कब्जा’ गर्ने दाउमा थिए। पार्टीमा यादवले एकलौटी गरेको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका थिए।

पछिल्लो समय गठबन्धनप्रति भट्टराई असन्तुष्ट देखिन्छन्। केही समय अगाडि चीनमा विदेशमन्त्री नेपाल आउँदा गठबन्धनमा सहभागीलाई भेट्ने सूचीमा नराखेको प्रति पनि भट्टराईको असन्तुष्टि छ। विदेश पाउन आउँदा गठबन्धनका नेता तथा पूर्व प्रधानमन्त्रीसमेतलाई सरकारले भेट्ने लिष्टमा नराखेको भन्दै उनले चित्त दुखाएका थिए।

चिनियाँ विदेशमन्त्री नेपाल आउँदा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका नेता भट्टराई र यादवलाई भेट्ने कार्यक्रम थिएन। कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई मात्रै महत्व दिएको र आफ्नो दललाई बेवास्ता गरेको उनको आरोप छ।

उनले आइतबार सामाजिक संजालमा जसपालाई गरिएको उपेक्षा, अपमान र निषेध स्वीकार्य नहुने चेतावनी नै दिए। शुक्रबार नुवाकोटमा सत्ताधारी गठबन्धनमा आबद्ध केही दलहरुको बैठक बसी संयुक्त विज्ञप्ति सार्वजनिक गरिएको थियो। उक्त बैठकमा जसपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थिएन।

त्यसैलाई सामाजिक संजालमा सार्वजनिक गर्दै भट्टराईले गठबन्धनप्रति असन्तुष्टी व्यक्त गरेका हुन्। उनले गठबन्धनको धर्म र मयादा परिपालन गर्न र छलछाम नगर्न समेत आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा अपमानर निषेध गर्ने हर्कत जोसुकैले गरे पनि त्यो स्वीकार्य हुन्न। गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारीतापूर्वक पालना गरौं। कुनै छलछाम नगरौं। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौं।’

सत्ताधारी गठबन्धनको नुवाकोट जिल्लास्तरको बैठकमा प्रमुख दलहरुले जसपा र राष्ट्रिय जनमोर्चालाई बैठकमा सहभागी गराएका छैनन्। जसपा र जनमोर्चाको कमजोर सांगठनिक अबस्थाको आँकलन गरि उपेक्षा गरिएको आशंका बाबुराममा देखिन्छ।

बाबुरामको उक्त चेतावनीले सत्ताधारी गठबन्धनमा शक्ति सन्तुलनको दृष्टिले खासै प्रभाव नपार्ने भएकाले ठूला दलहरुले महत्व नदिएको हो वा सांगठनिक अबस्थाको आधारमा गठबन्धन गर्ने दलहरुको रणनीति हो?

यस बिषयमा जसपाका कायकारिणी समितिका सदस्य नवराज सुवेदीले सबैको परस्पर सहअस्तित्व र सम्मानको आबश्यकता औंल्याए। निषेधले कसैलाई लाभ नहुने हुँदा सबैलाई पारस्परिक सम्मानका साथ अगाडि बढ्नुपर्ने आबश्यकता रहेको उनको भनाइ छ। सांगठनिक अबस्थाको आधारमा गठबन्धन गर्ने सहमति नभएको उनले बताए।

उनले भने, ‘उहाँहरुले किन उपेक्षा गर्नु भएको हो जानकारी भएन। गठबन्धनमा आबद्ध सबै दलको पारस्परिक सहयोग र सहअस्तित्वको आधारमा गठबन्धनलाई अगाडि बढाउनुपर्ने अहिलेको आबश्यकता हो। अब निषेध नै गर्न खोजेको हो भने हाम्रो बैठकबाट के गर्ने आधिकारिक निर्णय गर्छौं।’

अहिले यस बिषयमा ठोस धारणा नबनाएको र आधिकारिकता पुष्टी भएपछि मात्र यथोचित निर्णय लिने सुबेदीले बताए। गठबन्धन दलहरुका बीचमा छलफल पश्चात मात्रै संस्थागत धारणा आउने उनले जानकारी दिएका छन् ।

उनले भने, ‘गठबन्धनका प्रमुख दलहरुले निषेध गर्ने र उपेक्षा गर्ने हर्कत भए स्वीकार्य हुँदैन। नुवाकोटको हकमा के भएको निषेधकारी ढंगले अगाडि बढेको हो भने गठबन्धन दलहरुबीचमा छलफल गरि सोही अनुसारको धारणा बनाउछौं।’ जसपालाई निषेध नै गर्न खोजिएको हो भने त्यसबारे पार्टी बैठकले निर्णय गर्ने उनको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.