रोपवेमा आइतबारदेखि फसेकाको उद्धार सकियो, ४ जनाको मृत्यु, हेलिकप्टरबाट पनि खसे
काठमाडौं । भारतको झारखण्डको देवघरस्थित त्रिकुट पर्वतमा रोपवे दुर्घटना भएको ४५ घण्टापछि उद्धार कार्य पूरा भएको छ । रोपवेको ट्रलीमा फसेका ४८ जनामध्ये ४६ जनाको उद्धार गरिएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२ भन्दा बढी घाइते भएका छन् । उद्धारका क्रममा दोस्रो दिन पनि एक महिला ट्रलीबाट खसेकी थिइन् । उनको मृत्यु भयो । सोमबार पनि हेलिकप्टर चढ्ने क्रममा लडेर एक युवकको ज्यान गएको थियो ।
मंगलबार तेस्रो दिन पनि ७ घण्टा अपरेशन चलेको थियो । वायुसेना र आइटीबीपीका कर्मचारीहरूले हेलिकप्टरबाट २५ सय फिटको उचाइमा पुगेर रोपवेको तीन ट्रलीमा फसेका १५ जनालाई उद्धार गरे। उच्च उचाइ र तीव्र हावाको कारण, यो सबैभन्दा कठिन उद्धार थियो। उद्धारका क्रममा एक जवानको खुट्टामा चोट लागेको छ ।
एक दिन अघि सोमबार सेना, वायुसेना, आईटीबीपी र एनडीआरएफको टोलीले १२ घण्टासम्म उद्धार कार्य गरेक थिए। जसमा ३३ जनाको हेलिकप्टर र डोरीको सहयोगमा उद्धार गरिएको थियो । उद्धारका क्रममा सेफ्टी बेल्ट भाँचिएर हेलिकप्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । अन्धकार र कुहिरोका कारण अपरेशन स्थगित गरिएको थियो ।
वायुसेना, सेना र एनडीआरएफ टोलीहरूले अतिरिक्त सतर्कता अपनाएका थिए । तीनवटा ट्रली अग्लो उचाइमा रहेकाले रोपवेको तारले मानिससम्म पुग्न कठिन भएको टोलीका एक अधिकारीले बताए ।
यस कार्यमा वायुसेनाका तीन वटा हेलिकप्टर परिचालन गरिएको थियो । शीर्ष अधिकारीहरू लगातार घटनास्थलमा क्याम्पमा बसेका थिए। उक्त दुर्घटनामा उद्धार गरिएका १२ जनाभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ । जसमा महिला र बालबालिकाहरू छन्। केही घाइतेलाई आईसीयूमा पनि राखिएको छ ।
उद्धार कार्य सकिएपछि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले भने, ‘उद्धार कार्य पूरा भएको छ । दुर्भाग्यवश हामीले यस दुर्घटनामा केही व्यक्तिहरू गुमायौं। म वायुसेना, सेना, एनडीआरएफ र आईटीबीपीका जवानहरू र प्रशासनलाई सलाम गर्दछु जसले मानिसहरूलाई मद्दत गर्न आफ्नो जीवन जोखिममा राखेका छन्। घटनाको छिट्टै उच्चस्तरीय छानबिन गरी दोषीलाई कडा कारबाही गरिने छ र घाइतेलाई सहयोग गर्ने निर्णय गरिनेछ ।’







डिसी नेपाल







Facebook Comment