रूसी राष्ट्रपतिले पाकिस्तानका नवनियुक्त प्रधानमन्त्रीलाई बधाइ दिँदा यति ठूलो बबाल किन ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाकिस्तानका नयाँ प्रधानमन्त्रीलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनले आगामी दिनमा दुई देशबीचको सहकार्य अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
पाकिस्तानस्थित रुसी दूतावासले राष्ट्रपति पुटिनको सन्देश ट्वीट गरेको छ । राष्ट्रपति पुटिनले जारी गरेको सन्देशमा भनिएको छ, ‘राष्ट्रपति पुटिनले पाकिस्तानका नयाँ प्रधानमन्त्री शाहबाज सरिफलाई बधाई दिनुभएको छ र भविष्यमा दुई देशबीचको सहकार्य अझ बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । अफगानिस्तान र अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध लड्ने मोर्चामा पनि दुई देशबीचको सहकार्य बढ्ने अपेक्षा गरिएको छ।’
यसअघि शाहबाज सरिफलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए । प्रधानमन्त्री मोदीले नयाँ नेतृत्वबाट सहयोगको अपेक्षा गरेको बताएका थिए ।
टर्कीका राष्ट्रपतिले बधाई दिँदै दुई देशबीच गहिरो सम्बन्ध रहेको र आगामी दिनमा यसलाई थप मजबुत बनाउने बताए । एर्दोगानले भने, ‘सबै कठिनाइका बाबजुद पनि पाकिस्तानले लोकतन्त्रबाट आफूलाई टाढा राखेको छैन र कानुन र व्यवस्था कायमै छ। टर्की पाकिस्तानलाई सबै मोर्चामा सहयोग गर्न तयार छ ।’
इमरान खान प्रधानमन्त्री हुँदा उनले यही वर्ष २४ फेब्रुअरीमा रुसको भ्रमण गरेका थिए । इमरान खान रुस पुगेकै दिन रुसी राष्ट्रपति पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही गर्ने घोषणा गरेका थिए ।
जब इमरान खानको सरकार बहुमत नपुगेर पतन भयो, उनले अमेरिकाले षड्यन्त्र गरेर सरकार ढालेको आरोप लगाए। इमरान खानको पार्टी तहरीक-ए-इन्साफका धेरै नेताहरूले पनि सरकारको पतनलाई खानको रुस भ्रमणसँग जोडेका थिए।
अब जब रुसी राष्ट्रपतिले शाहबाज शरीफलाई बधाई दिएका छन्, जसका कारण पाकिस्तानी जनताले इमरान खानको भनाइको खिल्ली उडाइरहेका छन् ।
प्रसिद्ध पाकिस्तानी पत्रकार हमिद मिरले रुसी दूतावासको ट्विट रिट्वीट गर्दै लेखेका छन्, ‘अमेरिकी षड्यन्त्रको बलमा सत्तामा आएका व्यक्तिलाई रुसी राष्ट्रपतिले बधाई दिएका छन् ।’
अमेरिकाका लागि पाकिस्तानी राजदूत हुसैन हक्कानीले पनि रुसी दूतावासको ट्विटलाई रिट्वीट गर्दै लेखेका छन्, ‘पुटिनले त्यस व्यक्तिलाई बधाई दिएका छन् जसलाई इमरान खानले अमेरिकीहरूको षड्यन्त्रबाट सत्तामा आएको भनेका थिए । इमरान खानले आफ्नो रुस भ्रमणलाई प्रधानमन्त्रीको कुर्सीसँग पनि जोडेका थिए । कतै षड्यन्त्र गहिरिएको छैन ?’
पाकिस्तानी लेखक युसुफ नजरले पनि पुटिनको बधाईमा लेखेका छन्, ‘चीन, रुस र टर्कीले शाहबाज शरीफलाई प्रधानमन्त्रीको रूपमा स्वागत गरेका छन्। तर इमरान खानले यो अमेरिकी षड्यन्त्र भएको महसुस गरेका छन् । अमेरिकाको षड्यन्त्र भएको भए रुस र चीनले यसरी स्वागत गर्ने थिएनन् ।’
पाकिस्तानी पत्रकार मुर्तजा अली शाहले पनि व्यङ्ग्य गर्दै लेखेका छन् ‘पाकिस्तान तहरीक–ए–इन्साफ विरुद्धको कथित अन्तर्राष्ट्रिय षड्यन्त्रमा रुसी राष्ट्रपति पुटिन पनि सामेल भएका छन् ।’
पाकिस्तानको साम टिभीमा अनुसन्धान इकाईका प्रमुख जाहिद गिस्कोरीले पुटिनको बधाई सन्देशमा लेखेका छन्, ‘रुसले शाहबाज सरिफको नेतृत्वमा दुई देशबीचको सहकार्य बढ्ने आशा व्यक्त गरेको छ । पाकिस्तानका धेरै मानिसहरूले पुटिनको बधाईलाई धेरै महत्त्वपूर्ण ठान्छन्।’ पाकिस्तानका पूर्व सिनेटर फरहतुल्लाह बाबरले पाकिस्तानले आफ्नो साझेदारी विस्तार गर्नुपर्ने लेखेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको रुस भ्रमणको विभिन्न कारणले चर्चा भइरहेको थियो । सबैभन्दा ठूलो कारण यो थियो कि जुन दिन इमरान खान मस्को पुगेका थिए, त्यही दिन रुसले युक्रेनमा आक्रमण गरेको थियो ।
इमरान खानलाई यो कुरा थाहा नभएको होइन, किनभने एक दिनअघि पुटिनले पूर्वी युक्रेनको दुई क्षेत्रलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिएका थिए । यसबाहेक युक्रेनलाई लिएर महिनौंदेखि तनाव चलिरहेको थियो। धेरै विज्ञहरूले भनेका थिए – इमरान खानले भ्रमण स्थगित गर्नुपर्थ्यो।
प्रसिद्ध पाकिस्तानी स्तम्भकार फारुक सलीमले ट्वीट गरेका थिए, “रुसले युक्रेनमा आक्रमण गर्यो। उनले अन्तर्राष्ट्रिय नियम तोडेका छन् । सम्पूर्ण विश्वको राय रुसको पक्षमा छैन । यस्तो बेला रुसको भ्रमण गरेर इमरान खानले युक्रेनमाथिको आक्रमणलाई जायज ठहराउनुभएको हो ?’
फारुकले आफ्नो दोस्रो ट्विटमा भनेका थिए, ‘पाकिस्तान र रुसको द्विपक्षीय व्यापार वार्षिक ४०० मिलियन डलर मात्रै हो । रुसले चाहेको कुरा पाकिस्तानसँग छैन । रूसलाई विद्युतीय र औद्योगिक मेसिनरी चाहिन्छ। रुसलाई पाकिस्तानको उत्पादन चाहिँदैन। इमरान खानको भ्रमणबाट पाकिस्तानलाई केही फाइदा हुने छैन ।’
फारुक सलीमले लेखेका छन्, ‘संसारभर रुसको निन्दा भइरहेको छ । रुसले विश्वको कुल गार्हस्थ उत्पादनको तीन प्रतिशत मात्र ओगटेको छ । पाकिस्तानको कुल निर्यातको एक प्रतिशत मात्र रुस जान्छ। आईएमएफमा जम्मा २.५ प्रतिशत भोट मात्र रुसको नियन्त्रणमा छ । एफएटिएफमा रुसको भूमिका पनि नगण्य छ। रुसबाट पाकिस्तानले के पाउँछ ?’







डिसी नेपाल







Facebook Comment