मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छः अध्यक्ष ओली

डिसी नेपाल
३० चैत २०७८ १५:५३
56
Shares

माेरङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन्।

एमाले विराटनगर महानगरद्वारा बुधबार आयाजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गरे।

उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधिविहीन स्थानीय पालिका बनाउने षड्यन्त्रलाई नेपाली जनताले नमान्ने बताए।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको तथा विभिन्न विमानस्थलको विस्तार गरी राति सेवा सञ्चालन गराएको दाबी गरे।

उनले पाँचदलीय गठबन्धनले मुलुकको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारले भुक्तानी नपाएकोमा गुनासो गरे।

अध्यक्ष ओलीले विसं २०५१ मा मासिक रु १०० देखि सुरु गरेको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले दैनिक रु १३३ कायम भएको र कर्मचारीको सहज जीवनयापनका लागि तलब वृद्धिसमेत गरेको स्मरण गराए। कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.