पाकिस्तानमा पीटीआइ र पीएमएल-एन सांसदबीच झडप, उपसभामुखलाई थप्पड, कपाल लुछालुछ
काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तको विधानसभामा शनिबार नयाँ मुख्यमन्त्री चयन गर्नुअघि हंगामा भएको छ । इमरान खानको पार्टी पीटीआइ र शाहबाज सरिफको पार्टी पीएमएल-एनका विधायक लगायत अन्य दलका नेताहरुबीच झगडा भएको थियो । विधानसभाका उपसभामुख सरदार दोस्त मोहम्मद मजारीमाथि पनि दुर्व्यवहार भयो र उनलाई थप्पड हानियो ।
पञ्जाब विधान सभाको अधिवेशन बिहान ११:३० बजे सुरु हुने भनिएपनि झगडाका कारण कार्यवाही सुरु हुन सकेन । खासमा पीटीआई सदस्यहरूले संसदमा ‘लोटा’ लिएर आए र पार्टीबाट अलग भएका विधायकहरूलाई ‘लोटा, लोटा’ भनेर नारा लगाउन थाले। यसबाट पीएमएल–एनका नेताहरु आक्रोशित भए र दुई गुटबीच झडप भयो । यसै क्रममा संसदको अधिवेशनका लागि पुगेका उपसभामुख मजारीमाथि ट्रेजरी बेन्चका सदस्यले कुटपिट गरेका थिए । यद्यपि सभा गार्डले मजारीलाई तत्कालै उनको चेम्बरमा सारे ।
खासमा, पाकिस्तानमा ती नेताहरूलाई लोटा भनिन्छ, जो अवसरपरस्त हुन्छन् र आफ्नो फाइदा देखेर आफ्नो समर्थन वा पार्टी परिवर्तन गर्छन्। पञ्जाबको सत्ताका लागि दुई उम्मेदवारहरू बीच कडा प्रतिस्पर्धा छ। हम्जा शाहबाज पीएमएल-एन र उनीहरूको गठबन्धन (पीडीएम) बाट उम्मेदवार छन्। पीएमएल-क्यू नेता परवेज इलाहीलाई इमरान खानको पार्टी पीटीआईको समर्थन प्राप्त छ।
यसअघि बुधवार लाहोर उच्च अदालतले हम्जा शाहबाजको समयअगावै निर्वाचन र उपसभामुखको शक्ति पुनर्स्थापना गर्न माग गर्ने याचिका खारेज गरेको थियो । उच्च अदालतले उपसभामुखलाई निर्वाचन १६ अप्रिलमा गराउन आदेश दिएको थियो ।
पाकिस्तानको संसदमा अविश्वासको प्रस्ताव पेश भएपछि पूर्व प्रधानमन्त्री इमरान खानले पञ्जाबका मुख्यमन्त्री उस्मान बुजदारको राजीनामा लिएका थिए । अप्रिल १ मा गभर्नरले राजीनामा दिएपछि पञ्जाबमा मुख्यमन्त्रीको कुर्सी खाली छ।







डिसी नेपाल







Facebook Comment