गठबन्धन बालुवा र तासको घरः एमाले उपाध्यक्ष पौडेल

डिसी नेपाल
१४ वैशाख २०७९ ११:३९
132
Shares

बुटवल। एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुंग हुने टिप्पणी गरे। ‘एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ,’ पौडेलले भने।

उनले एमाले नेतृत्वमा रहँदा संघ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिए। उनले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको बताए।

‘कोही व्यक्ति असन्तुष्टिको नाममा चुनावमा खटिँदैन, पार्टीलाई हराउन लाग्छ भने त्यो उसको निम्ति ठूलो भूल हुनेछ, पार्टीका अगाडि व्यक्ति केही होइन,’ उनले भने। उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताए। ‘टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन्,’ उनले भने।

पाैडेलले कुनै पनि खालका भ्रम र आशंका नपाली चुनावमा दिनरात खटिन पनि कार्यकर्तालाई निर्देशन दिए। ‘रुपन्देहीको तिलोत्तमा देशकै नमुना नगरपालिका बनेको छ, त्यो एमाले नेतृत्वको स्थानीय सरकार भएको कारणले भएको हो, राम्रो काम गर्दागर्दै चुनाव हार्ने सम्भावनै रहँदैन,’ पौडेलले भने। उपाध्यक्ष पौडेल केही दिनदेखि रुपन्देहीका स्थानीय तहहरुमा चुनावी माहौल बनाउन सक्रिय छन्। उनले सत्ता गठन्धनभित्रका धेरै नेता कार्यकर्ता एमालेमा आउन चाहिरहेको भन्दै यसको नतीजा चुनावपछि देखिने पनि बताए।

एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरीले सरकारमा रहँदा गरेको राम्रा कामका कारण जनतामा एमालेप्रतिको आकर्षण बढेको बताए। अर्का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज दधिराम न्यौपानेले मार्क्सवाद र साम्यवादको झोला बोकेर रुखमा भोट हाल्दै समाजवादमा पुग्छौं भन्नेहरूको सपना तुहिन लागेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.