रूसले ग्यास आपूर्ति ठप्प पारिदिएपछि युरोपेली संघले के भन्यो ?
काठमाडौं । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लेनले केही युरोपेली देशहरूलाई ग्यास आपूर्ति रोक्ने रुसको निर्णय ब्ल्याकमेल गर्ने हतियार भएको बताएकी छिन्। उनले रुसको यो निर्णय अनुचित र अस्वीकार्य भएको बताइन् ।
यसबाट ग्यास आपूर्ति गर्ने राष्ट्रका रूपमा रुसको अविश्वसनीयता देखिएको उनले बताइन् । रुसको ऊर्जा कम्पनी गाजप्रोमले रुबलमा भुक्तानी तिर्न अस्वीकार गरेको कारण पोल्याण्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गरेको बताएको छ।
युरोपेली आयोगकी प्रमुखले भनिन् – ईयू सदस्य राष्ट्रहरूसँग आपतकालीन योजना छ। उनले युनियनका सदस्य राष्ट्रहरूलाई वैकल्पिक व्यवस्था र भण्डारणको राम्रो स्तर उपलब्ध गराउन युरोपेली आयोग सदस्य राष्ट्रहरूसँग सम्पर्कमा रहेको बताइन् ।
यसैबीच रुसका एक शीर्ष सांसदले रुसी कम्पनीले ग्यास आपूर्ति बन्द गर्ने सही निर्णय गरेको बताएका छन् । रुसी संसदको तल्लो सदनका सभामुख व्याचेस्लाभ भोलोडिनले आफ्नो टेलिग्राम च्यानलमा रुसले आफ्ना मित्र नभएका अन्य देशलाई पनि त्यस्तै गर्नु पर्ने बताएका छन् ।
अर्कोतर्फ, पोल्याण्डको ग्यास आपूर्ति गर्ने कम्पनी पीजीएनआईजीले ग्यासप्रोमले ग्यास आपूर्ति रोकेर सम्झौता उल्लंघन गरेको जनाएको छ । कानूनी माध्यमबाट क्षतिपूर्ति पाउन प्रयास गरिने कम्पनीले जनाएको छ ।
रुसको यो कदमप्रति बेलायतले पनि प्रतिक्रिया दिएको छ । बेलायतका उपप्रधानमन्त्री डोमिनिक रोबले ग्यास आपूर्तिमा कटौती गर्ने निर्णयले रुसले आफूलाई थप एक्लो बनाएको बताएका छन् । स्काई न्यूजसँगको कुराकानीमा उनले रुसमा यसको उल्टो असर पर्ने दाबी गरे।







डिसी नेपाल







Facebook Comment