म्याराडोनाको जर्सी १ अर्बभन्दा धेरै मूल्यमा बिक्री
काठमाडौं । विश्वका उत्कृष्ट फुटबलर मध्येका एक डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा लगाएको जर्सी लिलामीमा १ अर्ब १३ करोड नेपाली रूपैयाँ (९.३ मिलियन डलर) मा बिक्री भएको छ । यससँगै अब यो लिलामीमा सबैभन्दा धेरै मूल्य पाउने खेलकुद क्षेत्रको वस्तु बनेको छ ।
यस खेलमा म्याराडोनाको पनि विवाद छ र यसलाई ‘ह्यान्ड अफ गड गोल’का लागि पनि चिनिन्छ। वास्तवमा यो खेलमा म्याराडोनाको गोललाई लिएर विवाद भएको थियो । म्याराडोना हेडरबाट गोल गर्न चाहन्थे, तर बल उनको हातमा लागेर गोलपोस्टमा गएको थियो । म्याच रेफ्रीले हात लागेको त्यो देख्न नसकेर गोलको मान्यता दिएको बताइएको छ।
यो खेलमा म्याराडोनाले आफ्नो उत्कृष्ट ड्रिब्लिङबाट इंग्ल्याण्डको लगभग सम्पूर्ण टिमलाई छक्याउँदै गोल गरेर टिमलाई यादगार जित दिलाएका थिए । २२ जुन १९८६ मा मेक्सिको सिटीमा खेलिएको यो खेलले अझ ठूलो महत्त्व पायो, किनभने चार वर्षअघि फकल्याण्ड टापुहरूमा बेलायत र अर्जेन्टिनाबीच भिडन्त भएको थियो।
म्याराडोनाले यस खेलमा गरेको दोस्रो गोललाई २००२ मा फिफाले शताब्दीको उत्कृष्ट गोलको रूपमा मतदान गर्यो। यसै क्रममा म्याराडोनाले विवादास्पद गोलको बारेमा भने कि यो गोल म्याराडोनाको टाउको र भगवानको हातको मिश्रणले भएको हो । यस खेलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पछि फाइनल जितेर अर्जेन्टिना च्याम्पियन बनेको थियो ।
यो खेलपछि इङ्ल्यान्डका मिडफिल्डर स्टिभ होजसँग म्याराडोनाले जर्सी साटासाट गरेका थिए । होजले अहिलेसम्म यसलाई बेचेका छैनन्। यो विगत २० वर्षदेखि म्यानचेस्टरको इङ्गल्याण्ड राष्ट्रिय फुटबल संग्रहालयमा रहेको छ।







डिसी नेपाल







Facebook Comment