झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासित गठबन्धन

डिसी नेपाल
२३ वैशाख २०७९ १०:११
156
Shares

झापा। पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन्। नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी गठबन्धन गरेका छन्।

यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ। “अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्वाभाविक हो”, प्रदेशसभा सदस्य वसन्त बानियाँ भन्छन्, “स्थानीय आवश्यकताका आधारमा गठबन्धन भएको हो।”

कचनकबलमा कांग्रेसबाट अध्यक्षमा कालेन्द्रप्रसादसिंह राजवंशी र उपाध्यक्षमा एमालेबाट नवराज भट्टराई उम्मेदवार बनेका छन्। दुवै उम्मेदवार संयुक्तरूपमा चुनावी प्रचारका लागि घरदैलोमा हिँडिरहेका छन्। सो पालिकामा राप्रपाबाट अध्यक्षमा अन्जरा आलम र उपाध्यक्षमा निमसरी राजवंशी उम्मेदवार बनेका छन्।

यसैगरी कनकाई नगरपालिकामा कांग्रेस र एमालेबाहेकका दलको चुनावी गठबन्धन बनेको छ। कांग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा छन्। विसं २०७४ को स्थानीय तह निर्वाचनमा कनकाईमा प्रमुख र उपप्रमुखमा एमालेका राजेन्द्र पोखरेल र मञ्जु प्रसाईँ विजयी भएका थिए।

एमालेले दुवैैलाई सोही पदमा दोहोर्याएको छ। कांग्रेसले प्रमुखमा रुद्रप्रसाद चिमरिया र उपप्रमुखमा आशा शर्मा शिवाकोटीलाई उम्मेदवार बनाएको छ। कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापाले कांग्रेस र एमालेबाहेकका चार दलको गठबन्धन बनाएका छन्।

थापाको गठबन्धनमा नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र जनता समाजवादी पार्टी सामेल छ। गठबन्धनबाट प्रमुखमा थापा र उपप्रमुखमा एकीकृत समाजवादीकी अम्बिका उप्रेती उम्मेदवार छन् । विवेकशील साझा पार्टीले भीम अधिकारीलाई उम्मेदवार बनाएको छ।

यस्तै दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बृहत् गठबन्धन बनेको छ। एमाले एक्लै चुनावी मैदानमा छ। दमकमा नगरप्रमुखमा राप्रपाका राम थापा र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई उम्मेदवार छन्।

एमालेले गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखमा उम्मेदवार बनाएको छ। राप्रपासहितको गठबन्धनमा कांग्रेस र माओवादी केन्द्र संलग्न छ। जनता समाजवादी पार्टीले अलग्गै उम्मेदवार खडा गरेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.