मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार
गलेश्वर। वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल सात दिनमात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन्।
निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरूले घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा सिकाउन थालेका हुन्।
मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । चुनाव प्रचारका लागि गाउँगाउँमा पुगेका उम्मेदवारले चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएका छन्।
बेनी नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार चिरञ्जीवी पौडेल र नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपप्रमुखमा उम्मेदवार ज्योति लामिछानेले शुक्रबार बेनी नगरपालिका–४ थामडाँडा, सुर्केमेला र १ बगरफाँटका मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै मत मागे। बेनी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको दुई दलीय गठबन्धन छ।
चुनावको चहलपहल सुरु भएपछि आयोगले नै घरघरमा मत कसरी दिने भनेर सिकाउन आउने गरेकामा यसपटक उम्मेदवार तथा नेताहरूले नै सिकाउन आएको बेनी नगरपालिका–२ का ७० वर्षीय पदमपाणि शर्माले बताए। “अहिले मतपत्रका धेरै चिह्नमा छाप लगाउनुपर्छ, यसभन्दाअघि धेरैपटक मतदान गरे पनि यसपटक अलि कठिन भएकाले मतदाता शिक्षा कार्यक्रम आवश्यक छ”, उनले भने।
मालिका गाउँपालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेका श्रीप्रसाद रोका र माओवादी केन्द्रको तर्फबाट पालिका प्रमुखमा उम्मेदवार बनेका रेशम जुग्जाली (सुविन)ले पनि पालिकाका वडा, टोलटोलमा पुगेर मतदाता शिक्षाबारे जानकारी दिइरहेका छन्। मतदातासँग मत माग्ने मात्रै होइन, उनीहरूलाई मतदानबारे जानकारी दिनु आफ्नो दायित्व रहेको अध्यक्षका उम्मेदवार रोकाले बताए।
नेपाली कांग्रेस म्याग्दीले उम्मेदवारसहित केही कार्यकर्तालाई चुनाव प्रचार–प्रसारमा पठाएर अन्य पदाधिकारी र सदस्य मतदाता शिक्षाका लागि गाउँ–गाउँमा खटाएको कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले बताए।
उनले भने, “पाँच वर्षअघि भएको मतदान प्रक्रिया कतिपयले भुलेको पनि हुनसक्छ, सक्षम र योग्य उम्मेदवार छनोट गर्न पाउने अधिकार मतदातालाई छ, त्यसकारण पनि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेकामा हामी आफैँले यसबारेमा गाउँगाउँ र टोलटोलमा पुगेर शिक्षा दिइरहेका छौँ।”
धवलागिरि गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएकी थमसरा पुनले पनि यतिबेला आफ्ना मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छन्। मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि कतिपय मतदाता मतदान गर्ने तरिकामै अल्मलिएका र मत बदर हुन नदिन घरघरमा पुगेर उनीहरूलाई सचेत गराइएको उनकाे भनाइ छ।
त्यसैगरी बेनी नगरपालिका–२ मा कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार यामबहादुर कार्की पनि मत बदर हुन नदिन नागरिकलाई सचेत बनाउने कार्यमा व्यस्त छन्। यहाँका उम्मेदवारसहितका नेता कार्यकर्ताले नमूना मतपत्र लिएर मतदान गर्न सिकाइरहेका छन्।
मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रियामा कोही अल्मलिनु नपरोस् भनी नमूना मतपत्र बोकेर घर–घरमा मतदान गर्न जानकारी दिने गरिएको उम्मेदवारहरूको भनाइ छ।
खेतबारी र घरआँगनमै पुगेर मत माग्दै उम्मेदवार
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका गाउँगाउँमा चुनावी गतिविधि बढेको छ। उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न घरआँगनमै पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारी र काम गरिरहेको ठाउँमै पुगेर भए पनि उम्मेदवारले आफूलाई भोट दिन अनुरोध गर्ने गरेका छन्।
म्याग्दीका विभिन्न ठाउँमा मतदातालाई भेट्न उम्मेदवार खेतबारीसम्म पुगेका छन्। कांग्रेसको तर्फबाट मालिका गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद रोका मालिका–४ स्थित खेतबारीमा मकै गोडिरहेका र आँगनका गहुँ चुटिरहेका मतदातासँग बारी र आँगनमै पुगेर मत मागेका छन्।
अहिले गहुँ थन्क्याउने, मकै गोड्ने समय भएकाले कतिपय मतदाता खेतबारीमै काममा व्यस्त हुने हुँदा उनीहरूको काममा व्यवधान नहोस् भनेर खेतबारीमै पुग्ने गरेको रोकाले बताए।
आफूले सम्भव भएसम्मका मतदातालाई भेट गरेको उनको भनाइ छ। घरदैलो अभियानमा आफ्नो प्रतिबद्धता मतदातासमक्ष राख्ने गरेको उनले बताए। मालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारेमा मतदाताको सुझावसमेत लिने गरेको उनले जानकारी दिए। आफ्नो चुनावी घोषणापत्र भए पनि कतिपय विषय मतदाताको अपेक्षा पनि रहने र त्यसैलाई सम्बोधन गरी निर्वाचित भएपछि काम गर्ने रोकाले बताए।
त्यसैगरी एमालेको तर्फबाट रघुगङ्गा गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की (दीपक) पनि मकै बारीमा पुगेर मतदातालाई भेटेका छन्। मतदातालाई बारीसम्म पुगेर आफ्ना कुरा राख्न पाउनु र उनीहरुको कुरा सुन्न पाउनु पनि सकारात्मक विषय भएको उनले बताए।
बारीसम्मै आइपुगेर मत मागेपछि कृषक खुसी भएका छन्। कृषकले आफूलाई भेट्न उम्मेदवार बारीसम्म आइपुगेपछि खुसी लागेको प्रतिक्रिया दिँदै समयमै बीउ र मलको व्यवस्थापन हुनुपर्नेमा उम्मेदवारसँग माग गरेका छन्।
कांग्रेस र माओवादी केन्द्र गठबन्धनको तर्फबाट बेनी नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार चिरञ्जीवी शर्मा र ज्याति लामिछाने पनि खेतबारीमा काम गरिरहेका किसान, मजदुर र वनजङ्गलमा गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त छन्।
बेनी नगरपालिकामा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार सुरत केसी पनि घरघरमै पुगेर मतदातालाई भेटघाट गर्न व्यस्त छन्। घरमा नभेटिए खेतबारीसम्म पुगेर पनि मतदातासँग भेटघाट गरिएको उनले बताए।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। सत्तारुढ गठबन्धनका तर्फबाट बेनी नगरपालिकाका प्रमुखका उम्मेदवार चिरञ्जीवी शर्मा र उपप्रमुखका उम्मेदवार ज्योति लामिछानेले नगरपालिकाका १० वटै वडामा घरदैलो गरिरहेका छन्। घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको प्रमुखका उम्मेदवार शर्माले बताए।
छवटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। धवलागिरि गाउँपालिकाको वडा नं १ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्रबाट र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन्।
वडाध्यक्षमा झकबहादुर छन्त्याल निर्विरोध भएका हुन्। जिल्लामा सत्ता गठबन्धनको पूर्ण तालमेल नभए पनि केही स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन्।
एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ। रघुगङ्गा गाउँपालिका–६ वडामा एमाले र राप्रपाबीच तालमेल भएको छ। कांग्रेस र माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा आंशिक तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल नभएपछि जिल्लाभरमा तीन पदबाहेक अन्य पदमा गरेको मनोनयन फिर्ता गरेका छन्।







डिसी नेपाल








Facebook Comment