ओलीले पाेखरामा भने-चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्

डिसी नेपाल
२६ वैशाख २०७९ १४:५४
464
Shares

पोखरा। एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन्। ‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँचवटा छन्। हामी सतर्क हुन जरुरी छ। धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन।’

गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन उनले कार्यकर्तालाई सुझाएका छन् । ‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उनी भन्छन्, ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौं । कसैले शान्ति सुब्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’

उनले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाए । ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन । मतदाताबाट सहयोग छ,’ ओलीले भने, ‘तपाईंका सहयोग एमालेलाई चाहिँदैन । तटस्थ निर्वाचन गराउनुस् ।’ उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गरेका छन् । ‘परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.