कांग्रेसका बागी उम्मेदवार प्रचारप्रसारमा, पार्टीले कारबाही गरेन

डिसी नेपाल
२७ वैशाख २०७९ ११:२६
120
Shares

रसुवा। रसुवामा विभिन्न दलका बागी उम्मेदवारी दिएकाहरू यतिबेला चुनावी प्रचारप्रसारमा लागेका छन्। पार्टीले टिकट नदिएको भन्दै असन्तुष्टि जनाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा बागी उम्मेदवारी दिएकाहरू यतिबेला भाेट माग्न सक्रिय भएर लागेका छन्।

नेपाली कांग्रेसका विजय तामाङले पार्टीप्रति असन्तुष्टि जनाउँदै उत्तरगया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराए । उत्तरगया गाउँपालिकाकै उपाध्यक्षमा कांग्रेसकी सिर्जना तामाङले पनि उम्मेदवारी दर्ता गराइन्।

३० वैशाखमा हुने स्थानिय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई नेपाली कांग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशनसमेत दिएको थियो। पार्टीप्रति असन्तुष्ट रही स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएकाहरू केहीले पार्टीको निर्देशन पालना गर्ने भन्दै उम्मेदवारी फिर्ता लिए।

तर उत्तरगया गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्षमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका तामाङद्वयले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । उनीहरू यतिबेला घरदैलो अभियानमार्फत प्रचारप्रसारमा लागेका छन्।

नेपाली कांग्रेस रसुवाले बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता नलिए विधानअनुसार स्वत: साधारण सदस्यसमेत नरहने गरी कारबाही हुने निर्देशन दिए पनि बागी उम्मेदवारलाई कुनै कारबाही गरेको छैन।

कांग्रेस रसुवाले नौकुण्ड गाउँपालिकामा जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ। गाउँपालिका अध्यक्षमा काग्रेस र उपाध्यक्षमा जनता समाजवादीबाट उम्मेदवार छन् भने जिल्लाको अन्य चारवटा गाउँपालिकामा एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.