भारतीय प्रधानमन्त्री माेदीको सुरक्षा कमाण्ड गर्ने जिम्मेवारी नेपाली सेनालाई
काठमाडौं। नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि सरकारले सबै सुरक्षा निकायलाई लुम्बिनीका केन्द्रित गरेको छ। नेपाली सेनाको नेतृत्वमा तीन वटै सुरक्षा निकायलाई लुम्बिनीमा केन्द्रित गरेको हो।
जेठ दुई गते बुद्ध जयन्तीको अवसरमा नेपाल भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लागेका हुन्। माेदीको सुरक्षाको कमाण्ड गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको हो। मोदीको सुरक्षाकै लागि नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापा समेत शनिवार लुम्बिनी पुगिसकेका छन्।
त्यसैगरी सशस्त्र प्रहरीले पनि आफ्नोतर्फबाट सुरक्षा व्यवस्था चुस्त राखेको जनाएको छ। भ्रमण अवधिभर नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षा गस्ती र सुरक्षाको पहिलो घेरामा नेपाली सेनाले कमाण्ड गर्ने भएको हो। ‘भारतीय प्रधानमन्त्रीको साथमा आउने सुरक्षाकर्मीहरुको सहयोगमा नेपाली सेनाले सुरक्षाको जिम्मा लिनेछ’, गृहमन्त्रालय उच्च स्रोतले भन्यो।
मोदीको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली रुपन्देही आएको छ। गत हप्ता भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानमार्फत सो टोली आएको थियो। विमानमा भारतीय सैनिक अधिकारीहरु छन्। सो टोलीमा ३० जना सुरक्षाकर्मी रहेका छन्।
२५६६ औँ बुद्ध जयन्तीका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन्। उनी हेलिकप्टरबाट लुम्बिनी आउँदै छन्। लुम्बिनीमा चारवटा हेलिप्याड बनाइएको छ। प्रधानमन्त्री मोदी आउने भएपछि लुम्बिनी क्षेत्र वरिपरिको सुरक्षा तथा अन्य व्यवस्थापनको लागि भारतबाटै आएको सुरक्षाकर्मीहरुको टोलीले नेपाली सुरक्षाकर्मीहरुको सहयोगमा कार्यक्रम स्थल, मोदी बस्ने होटललगायत वरपरको सुरक्षा व्यवस्थापन खटिएको छ।
मोदीको भ्रमण कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी जाँदैछन्। भारतीय प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल समालेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हुनेछ। यसअघि मोदी सन् २०१९ मा नेपाल आएका थिए।
केही समयअधि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारतको भ्रमण गरेका थिए। लुम्बिनीमा हेलिकप्टरमार्फत् आउने मोदीले मायादेवी मन्दिरमा पूजाआजा, अशोक स्तम्भमा दीप प्रज्ज्वलन र पुष्करणी पोखरी दक्षिणमा रहेको बोधी वृक्षमा विश्राम गर्ने कार्यक्रम तय गरिएको छ।






डिसी नेपाल





Facebook Comment